राजनीति

संविधान संशोधन गर्न हतार गर्न हुन्न: अध्यक्ष ओली

Banner

काठमाडौँ, असोज २
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताउनुभएको छ ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उहाँले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

“गम्भीरताभन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित कुरा कुराबाट दबाब दिने प्रवृत्ति र अनेक खालका बेठीक उद्देश्य देखिएकाले तत्काल समुचित ढङ्गले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न फेरि गम्भीर रहेको छ । त्यसकारण यसका कुनै हतारो नै गरिहाल्नुपर्ने अवस्था आएको छैन”, उहाँले भन्नुभयो ।

उहाँले बडो दुःखले बलिदानपूर्ण लामो सङ्घर्षपछि हामीले आफैँले निर्माण गरेको संविधान सबैले मान्नुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष ओलीले संविधान सर्व स्वीकार्य बनोस् भनेर दुई पटक संशोधन गरिसकेको भन्दै अहिले पनि व्यावहारिक बनाउनका लागि आवश्यकअनुसार संशोधन गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका क्रममा देखापरेका, नमिल्दा खालका, व्यवहारमा परिवर्तन आवश्यक देखिएका त्यस्ता विषय परिवर्तन गर्दै लैजानुपर्दछ ।” संविधानको विरोध गर्ने र संविधानको समर्थन गरेपछि संशोधन हुन सक्दैन भन्ने दुवै कुरा ठीक नभएको उहाँले बताउनुभयो ।

आधारभूत गुणमा कतै खोट नभएको व्यक्ति सुवास नेम्वाङ रहेको भन्दै उहाँले अवसर र जिम्मेवारी पाउँदा सफलतापूर्वक काम गरेको उल्लेख गर्नुभयो । नेम्वाङले पुनःस्थापित प्रतिनिधिसभाको सभामुखको भूमिका असाधारण खेलेको भन्दै सोही संसद्ले थुपै्र युगान्तकारी निर्णय गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले संविधानमा निर्माणमा नेम्वाङको पदचिह्न, योगदान, दिशानिर्देशबारे पार्टीमा छलफल गर्ने बताउनुभयो । अध्यक्ष ओलीले सबै पार्टी मिलेर देशको समस्या समाधान गर्न एकजुट हुनुपर्ने बताउनुभयो । “आज सबै पार्टी र पक्ष मिलेर देशको समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धेरै प्रकारका खतराबाट हामी जेलिने छौँ”, उहाँले भन्नुभयो, “त्यसमा पनि प्रमुख राजनीतिक दलको कर्तव्य हो । साँच्चै देशप्रति प्रमुख राजनीतिक दल जिम्मेवार हुनुपर्दछ ।”

प्रमुख राजनीतिक दलहरू जमानी बसेर धेरै आन्दोलन र बलिदान भएको उल्लेख गर्दै बलिदान प्राप्त उपलब्धिलाई गुम्न दिन नहुने उहाँको भनाइ छ । उहाँले आन्दोलन र बलिदानबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बेला आएको धारणा व्यक्त गर्नुभयो । देशको भूमि, सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा गर्न पनि एमाले प्रतिबद्ध रहेको बताउनुभयो ।

“देशको राष्ट्रिय हित खलबलिदिन नदिने भन्दै भावनात्मक रूपमा अरुको स्वार्थका लागि हाम्रा देशमा जनतालाई पारस्परिक घृणा फैलाउन, मारकाट मच्चाउन र हिंसा भडकाउने खालका क्रियाकलाप एमालेलाई स्वीकार्य छैन । यस्तो कार्य रोक्न एमाले अघि बढ्ने छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय एकताबाट मात्र देशमा शान्ति सुव्यवस्था, सुशासन र विकास हुने बताउनुभयो । उहाँले राष्ट्रिय राजनीति कसैलाई सिध्याउने प्रतिशोधमा भइरहेको भन्दै अहिलेको आवश्यकता त्यसो नभई प्राप्त गरेको उपलब्धिको रक्षा रहेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>