राजनीति

बाल मन्दिरमा भएका अनियमितताप्रति मन्त्रालय गम्भीर छ: मन्त्री आचार्य

Banner
काठमाडौँ, भदौ २९-
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालमन्दिरमा भएका अनियमितताप्रति मन्त्रालय गम्भीर रहेको बताउनुभएको छ ।
उनान्साठीऔँ राष्ट्रिय बाल दिवसका अवसरमा नेपाल बाल सङ्गठन, केन्द्रीय कार्यलय ९बाल मन्दिर० द्वारा आज आयोजित ‘पुरस्कार तथा प्रमाणपत्र वितरण’ समारोहमा मन्त्री आचार्यले विगतमा बालमन्दिरका जग्गारजमिन, भौतिक सम्पत्तिमाथि भएका अनियमिततालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताउनुभएको हो ।
“विगतमा अनैतिक र अवैधानिक किसिमले लिएका सम्पत्ति बाल सङ्गठनको नाममा आउनुपर्छ । बाल सङ्गठनका नाममा भएका भौतिक सम्पत्तिलाई व्यवस्थित र एकीकृत गर्दै सम्पूर्ण बालबालिकाको हक, हितमा लगाउनका निमित्त मन्त्रालय गम्भीर रहेको छ”, उहाँले भन्नुभयो, “बालमन्दिरका नाममा करोडौँ सम्पत्ति छ तर संरक्षित बालबालिका अत्यन्तै दयनीय अवस्थामा बसिरहेका छन् ।”
बाल सङ्गठनका विकृति विसङ्गतिलाई हटाएर सही बाटोमा लैजान पहल गर्ने उहाँको भनाइ छ । बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले २०२१ सालदेखि नेपाल बाल सङ्गठनको स्थापना भएसँगै नेपालले राष्ट्रिय बाल दिवस मनाउँदै आएको जानकारी दिँदै बाल मन्दिरका इतिहासका पानाको संरक्षण गर्न पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा चित्रकला प्रतियोगितामा ३४ वटा विद्यालयबाट ९९ बालबालिकाले सहभागिता, बालगीत प्रतियोगितामा २४ विद्यालयबाट एक सय १७ बालबालिकाको सहभागिता र नृत्य प्रतियोगितामा २० वटा विद्यायलबाट एक सय ३६ जना बालबालिकाको सहभागिता रहेको सङ्गठनले जनाएको छ ।
सोही कार्यक्रममा ‘बालक पत्रिका’ लोकापर्ण भएको थियो ।  मन्त्री आचार्य, सङ्गठनका अध्यक्ष न्यौपाने, वरिष्ठ समाजसेवी राधिका शाक्य र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले संयुक्तरूपमा उक्त पत्रिका लोकार्पण गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>