देश/प्रदेश

पुल नहुँदा जोखिम मोलेर विद्यालय जान बाध्य बालबालिका

Banner
बैतडी, भदौ २३ –
पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन् । सिगास गाउँपालिका–६ मा रहेको गणेश माध्यमिक विद्यालय मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन् ।
उक्त खोलामा रहेको आरसिसी पुल दुई वर्षअघि बगाएको वडा नं ६ का वडाध्यक्ष तेजबहादुर साउदले बताउनुभयो । उहाँका अनुसार उक्त खोलामा पुल नहुँदा वडा नं ६ र ७ का बालबालिका जोखिमपूर्णरूपमा खोला तर्न बाध्य भएका हुन् ।
अस्थायी रुपमा बनाइएको काठेपुल पनि एक महिनाअघि खोलाले बगाउँदा विद्यालय जाने  बालाबालिकाले सास्तीपूर्ण यात्रा गर्नुपरेको विद्यालयका शिक्षिका लक्ष्मी चन्दले बताउनुभयो । “उक्त खोलामा रहेको पक्की पुल दुई वर्ष अगाडिको बाढीले बगाएको थियो, त्यसपछि अस्थायीरूपमा काठेपुल राखिएको भए पनि एक महिना अगाडिको बाढीले लग्यो”, उहाँले भन्नुभयो, “लामो समयदेखि खोलामा पुल नहुँदा बालबालिका दिनहुँ खोला तरेर विद्यालय आउजाउ गर्छन् । पानी परेपछि खोलामा पानीको बहाव बढेपछि विद्यार्थीलाई आवागमनमा थप सास्ती हुने गरेको छ ।”
उक्त विद्यालयमा बैतडीका मात्रै नभएर डोटीको आदर्श गाउँपालिकाका बालबालिका पनि अध्ययनका लागि आउने गरेका वडाध्यक्ष साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “बैतडी, बझाङ र डोटीको सिमानामा यो विद्यालय छ । पुल बगाएपछि त्यहाँबाट आउने विद्यार्थीसमेत जोखिम मोलेर आउने गरेका छन् ।”
पुल नहुँदा समस्या भएकाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको स्थानीयको आरोप छ । वडाध्यक्ष साउदले न्वाघरीगाड खोलामा आरसिसी पुल निर्माणका लागि बजेट आएको भए पनि राजनीतिक अस्थिरताका कारण बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई स्थानमा पुल बनाउने भनेर रू २० लाख बजेट आएको हो । सर्भे गरियो, निर्माण गर्ने भनेर समिति पनि बन्यो । हालसम्म काम अगाडि बढ्न सकेको छैन ।”
गाउँपालिका अध्यक्ष हरिसिंह धामीले न्वाघरीगाड खोलामा पुल निर्माणका लागि पहल थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माणका लागि प्रदेश र सङ्घ सरकारलाई अनुरोध गरेका छौँ । आशा छ छिट्टै पुल निर्माण हुनेछ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>