देश/प्रदेश
पीडितलाई क्षतिपूर्ति र समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री
०

काठमाडौँ, भदौ १८ –
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गरी उनीहरुलाई समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
एड्भोकेसी फोरम र न्यायका लागि अन्तर्राष्ट्रिय आयोगले आज यहाँ आयोजना गरेको नेपालमा सङ्क्रमणकालीन न्याय प्रक्रियासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गम्भीर मानवअधिकार उल्लङ्घनका दोषीलाई न्यायको कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउनका लागि विश्वसनीय सङ्क्रमणकालीन न्याय प्रक्रिया स्थापना गरिने बताउनुभयो । “सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन विस्तृत शान्ति सम्झौताको अधिनमा रही नेपालको सर्वोच्च अदालतको निर्देशन र सान्दर्भिक अन्तर्राष्ट्रिय प्रतिबद्धता साथै पीडितका चासोलाई मुख्यरुपमा ध्यान दिइनेछ”, उहाँले भन्नुभयो, “यसका लागि सरोकारवाला र पीडित पक्षसँग परामर्श गरिनेछ ।”
सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पु¥याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधनका लागि अघिल्लो संसद्मा पेस गरिएको भए पनि पारित हुन नसकेको उल्लेख गर्दै उहाँले नयाँ संसद् प्रारम्भ भएपछि आवश्यक संशोधनसहित पुनःसदनमा दर्ता भएको बताउनुभयो । संसद्को समितिमा विचारधीन रहेको सो विधेयकमा सरोकारवालाले उठाएका विषयलाई समितिले सम्बोधन गर्ने बताउनुभयो ।
नयाँ संविधान आफैँमा शान्ति सम्झौताको उपज भएको उल्लेख गर्दै उहाँले संविधानमा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा समाविष्ट मानवअधिकारका विषय समेटिएको बताउनुभयो । संविधान लिपिबद्ध भएका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार नेपालमा सञ्चालित द्वन्द्वको उपलब्धिका रुपमा रहेको उहाँको भनाइ छ ।
संविधानमा उल्लेख गरिएका नागरिक अधिकार जनआन्दोलन र जनयुद्धका कारण प्राप्त भएको जनाउँदै उहाँले शान्ति प्रक्रियाको मुख्य काम मानिएको माओवादीका पूर्वलडाकुको नेपाली सेनामा समायोजन र समाजमा पुनःस्थापित भए पनि विगतमा भएका मानवअधिकार उल्लङ्घनको विषयलाई सम्बोधन गर्न बाँकी रहेको बताउनुभयो ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सदनमा विचाराधीन सङ्क्रणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भएका कमीकमजोरी सच्याउन सकिएमा शान्ति प्रक्रियाका बाँकी काम छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो । “हामी दिगो शान्तिको बाटोमा छौँ, त्यसको आधार न्याय हो, न्यायलाई इन्कार गरे शान्ति सम्भव हुँदैन”, उहाँले भन्नुभयो, “कुनै पनि बहानामा सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन विलम्ब गर्न हुँदैन ।”
सदनमा दर्ता भएको विधेयकलाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिँदै उहाँले सङ्क्रणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन सबै पक्षले उदारता देखाउनुपर्ने बताउनुभयो । सशस्त्र द्वन्द्वपछि लडाकुको सेनामा समायोजन र समाजमा पुनःस्थापना, नयाँ संविधान निर्माण भए पनि लामो समयसम्म न्यायनिरुपण हुन नसक्नु दुःखद् भएको बताउनुभयो ।
नेपालका लागि सङ्घयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गेर हम्देयीले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन सरोकारवाला, पीडितलगायतको सहभागिता महत्वपूर्ण रहेको बताउनुभयो । न्यायका लागि अन्तर्राष्ट्रिय आयोगका महासचिव सान्टिएगो ए क्यान्टोनले पीडितलाई केन्द्रमा राखी सङ्क्रमणकालीन न्यायलाई पूर्णता दिइनुपर्ने बताउनुभयो ।
द्वन्द्वपीडित समुदायका प्रतिनिधि सुमन अधिकारीले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्रीलगायत राजनीतिक दलका नेताले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “यसलाई टुङ्ग्याउन सरकार जिम्मेवार हुनुपर्छ, पीडितलाई न्याय सुनिश्चित हुनुपर्छ”, उहाँले भन्नुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>





















