देश/प्रदेश
सहमति अनुसार २२ लाख क्षतिपूर्ति र चिकित्सकलाई कारबाही, पीडित परिवारले बुझे शव

धनगढी, भदौ १२-
धनगढी उपचारका क्रममा मृत्यु भएका एक महिलाको परिवारलाई २२ लाख क्षतिपूर्ति दिन भएपछि मृतकको परिवारले शव बुझेका छन् ।
कञ्चनपुर बेलौरीका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्युपछि उचित क्षतिपूूर्ति र चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्त आन्दोलित भएका थिए । क्षतिपूर्ति वापत एक करोड रुपैयाँ दिनुपर्ने उनीहरुको माग भएपनि सोमबार राति २२ लाख रुपैयाँमा सहमति जुटेको हो ।
‘उहाँहरुले एक करोड रुपैयाँ माग गर्नुभएको थियो, तर त्यति ठूलो रकम दिन सक्ने अवस्था थिएन’ अस्पताल स्रोतले भन्यो, ‘अबेर राति २२ लाखमा सहमति भयो । सहमतिअनुसार उहाँहरुलाई पैसा दिएपछि शव बुझेर लैजानुभयो ।’
मृतकका भतिज राजकुमारले शल्यक्रियामा संलग्न डाक्टर जोनेश तिवारीलाई कारबाहीका लागि सिफारिस गर्ने सहमति पनि भएपछि आफूहरुले शव बुझेको उनले बताए ।
त्यस्तै चौधरीको बायाँ मृर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी निकाल्न शल्यक्रिया गरिएको थियो । तर, शल्यक्रियापछि रक्तश्राव रोकिएन मृर्गौलामा आन्तरिक रक्तश्राव भएको भन्दै आफन्तको सहमतिमा डाक्टरले मृर्गौला झिकेका थिए । मृर्गौला झिकेपछि रक्तश्राव रोकिए पनि चौधरीको हिजो (सोमबार) उपचारकै क्रममा मृत्यु भएको हो ।
























