चितवन विशेष

चितवनमा कलेज पढ्दै गरेकी एन्जिलाले खोलिन् एक करोड बढी लगानीमा फिटनेस क्लब

Banner

चितवन, साउन ३२-

अहिलेका युवा पुस्ताहरु धेरैको चाहना विदेशिने हुन्छ तर अपवाद कालिका नगरपालिका–१ लंकालाइनकी एन्जिला तामाङको इच्छा अरु युवाहरुको भन्दा फरक छ । भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा बीबीए आठौं सेमेस्टरमा अध्ययनरत एन्जिलाको चाहना भने देशभित्र नै केही गर्ने छ । जसको फलस्वरुप उनले साथीलाई लगानीको लागि प्रोत्साहित गर्दै लंकालाइनमा झण्डै एक करोड ३० लाख रुपैयाँको लगानीमा फिटनेस क्लब सञ्चालन गरेकी छन् ।

गत फागुन ६ गतेबाट सञ्चालनमा आएको क्लबको अर्काे महिनातिर उनले विशेष कार्यक्रम गरेर उद्घाटन गर्ने तयारी गर्दे छन् । अहिले जुम्बा डान्समात्र सञ्चालनमा आएको क्लबमा उनले अर्काे महिनाबाट जिमसहित शारीरिक अभ्यासका विभिन्न अभ्यासहरु पनि सञ्चालन गर्ने सोच बनाएकी छन् ।
बीबीए आठौं समेस्टरको परीक्षा सकेर साथीहरुसँग नारायणगढमा चलचित्र हेर्न जाँदै गरेकी एन्जिलाले नारायणी अनलाइनलाई भनिन्, ‘ मेरो बीबीए तहको परीक्षा सकिएको छ । अब क्लबलाई पूरा समय दिएर व्यवस्थित गर्ने सोच बनाएको छु । ’ उनी कलेज पढ्न आउँदा बेलुका मात्र क्लबमा बस्ने गर्थिन् । बुबा देवबहादुर तामाङ, आमा हेलीमाया तामाङ र पोर्चुगलमा रहेका दाजुको सहयोगमा उनी विद्यार्थी जीवनमा नै व्यवसायिक यात्रामा अगाडि बढिन् । उनले आफूलाई परिवार र साथीहरुको पूर्ण सहयोग रहेको जानकारी दिइन् ।

पदमपुर क्षेत्रका १०० जना उनको एनजी फिटनेस क्लबको सदस्य बनेका छन् । प्रत्येकले मासिक एक हजार ५०० रुपैयाँ क्लबलाई बुझाउनु पर्छ । जसमा ५० जना त उनको क्लब खुलेदेखि नै नियमित ग्राहक बनेका छन् । अब जिम पनि सञ्चालन गरेपछि अझ धेरै व्यापार बढ्ने एन्जिलाको आशा छ । उनले भनिन्, ‘कलेजमा पढेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिकरुपमा क्लब सञ्चालनमा प्रयोग गर्छु । यसलाई एउटा ब्रान्डको रुपमा स्थापित गरेपछि चितवनका अन्य ठाउँमा पनि क्लबका शाखा खोल्ने सोच बनाएको छु ।’

सुरुमा पदमपुरको गाउँघरमा फिटनेस क्लब चल्दैन भनेर धेरैले सल्लाह दिने गरे पनि उनले कसैको कुरा नसुनी गाउँमा पनि चलाएर नै छाड्ने अठोट लिएर अगाडि बढिन् । एन्जिलाले भनिन्, ‘सानै देखि मेरो फिटनेस व्यवसाय गर्ने रहरले नै व्यवसायमा लाग्न प्रेरित ग¥यो । गाउँबाट सुरु गरेको मेरो व्यवसायलाई बिस्तारै शहरतिर बिस्तार गर्ने सोच बनाएको छु ।’ अहिले उनले दुई जनालाई रोजगारी दिएकी छन् । जसमा एक जना कार्यालय सहयोगी र एक जना सफाई गर्ने कर्मचारी छन् । अन्य अभ्यासहरु थपिएपछि अझ बढीले रोजगारी पाउने उनको अपेक्षा छ ।

कालिका नगरपालिका–१ का वडा सदस्य जीवन लामाले एनजी फिटनेस क्लबले निकै राम्रो व्यापार गरिरहेको नारायणी अनलाइनलाई बताए । अहिले धेरै मानिसहरुले शारीरिक श्रम नगर्ने प्रवृत्ति बढ्दै गएकोले पनि क्लबतिर आकर्षण बढेको विचार राखे । उनले भने, ‘ कलेज पढ्दै गरेकी एक विद्यार्थीले सुरु गरेको व्यवसायले निकै राम्रो गति लिँदै छ । यस क्षेत्रमा अन्य क्लबहरु नभएकोले पनि यसको व्यापार भविष्यमा अझै बढ्दै जाने अपेक्षा गरेको छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>