देश/प्रदेश
मजदुरमाथि मुक्का प्रहार गर्ने भेटवाल १ लाख धरौटीमा रिहा

मोरङ,साउन १५-
ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका विराटनगरका आयुष भेटवाललाई जिल्ला अदालत मोरङले धरौटीमा रिहा गर्न आदेश गरेको छ। भेटवालमाथि घर फर्किरहेका मजदुरमाथि अमानवीय रूपमा मुक्का प्रहार गर्दै बेहोस बनाएको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।
सोमबार जिल्ला अदालत मोरङमा न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले १९ वर्षीय भेटवाललाई १ लाख रुपैयाँ राखेर धरौटीमा रिहा गर्न आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। सूचना अधिकारी बुढाथोकीका अनुसार वादीतर्फबाट सरकार र प्रतिवादीका कानुन व्यवसायीको थुनछेक बहस सकिएसँगै भेटवालविरुद्ध दायर भएको ज्यान मार्ने उद्योग मुद्दामा अदालतले रिहा गर्न आदेश दिएको हो।
घटना भएको समय साथमा रहेका भेटवालका १७ वर्षीय साथी किशोरलाई पक्राउ गर्न अदालतद्वारा ३५ दिनको म्याद जारी भएको उनले बताए। भेटवालविरुद्ध आइतबार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। असार २० गते राति विराटनगरको दुधफारम चौक नजिक राति ८ बजे भेटवालले एक्कासी साइकलमा सवार २७ वर्षीय पवन साहमाथि आक्रमण गरेका थिए।
























