देश/प्रदेश
सडक विस्तारको माग गर्दै छोरासँगै अनशनमा ७३ वर्षका मानबहादुर

हेटौंडा, साउन १२-
हेटौँडा बजार क्षेत्रको सडक विस्तार अघि बढाउन माग गर्दै ७३ वर्षका बाबु छोरासँगै सडक डिभिजन कार्यालयको गेटमा अनशन बसेका छन्।
सडक विस्तारबाट पछि नहट्न दबाब दिँदै हेटौँडा उपमहानरपालिका–८ कमानेका ७३ वर्षीय मानबहादुर तामाङ र उनका छोरा ३४ वर्षीय राजीव सडक डिभिजन कार्यालयअगाडि अनशनमा बसेका हुन्।
यही साउन १ गतेदेखि अनशनमा बसेका उनीहरुले अब कुनै पनि बहानामा सडक विस्ताको काम नरोक्न सडक डिभिजन कार्यलयसँग माग गरेका छन्।
अनशन बसिरहेका राजीव तामाङले सरकारले कमभन्दा कम क्षति हुनेगरी सडक विस्तारको उपाय खोज्नुपर्ने बताए। उनले हेटौँडा–१५ देखि राप्तिपुलसम्मको क्षेत्रमा पर्ने सरकारी जग्गाको उपयोग गर्दै सडक विस्तार गरे कम क्षति हुने दाबी पनि गरे।
‘भन्न त हामीलाई धेरैले कुन राजनीतिक दलले ल्याएको यहाँ भनेर पनि सोध्छन्’, उनले भने, ‘हामी अनशनमा बस्नुमा कुनै स्वार्थ छैन। न कुनै राजनीतिक दलको समर्थनमा हामी यहाँ बसेका हौँ। हेटौँडालाई सुन्दर बनाउनपर्छ भन्ने नै हाम्रो माग हो। बर्षौंदेखिको सडक फराकिलो बनाउने अभियान पूरा नभएकाले यो पूरा हुनुपर्छ भनेर हामी अनशनमा बसेका हौँ।’

























