राजनीति
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाण्डौ,साउन ११-
प्रतिपक्षी दल नेकपा (एमाले) ले आजको राष्ट्रिय सभाको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ ।
बैठकको शुरुमै एमाले सांसद देवेन्द्र दाहालले सुन तस्करी घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताउनुभयो । संसदीय छानबिन समिति बनाइएको खण्डमा यो समितिमा राष्ट्रियसभाका सांसदको पनि प्रतिनिधित्व हुनुपर्ने उहाँको भनाइ छ ।
विमानस्थलबाट सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्री, विमानस्थलका प्रमुख र भन्सारका कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा उहाँको जोड छ । गएको ३ गते झण्डै एक क्विन्टल सुन विमानस्थलको बाटो हुँदै तस्करी भएको उल्लेख गर्दै सांसद दाहालले सुन तस्करीको विषय गम्भीर भएको बताउनुभयो ।



























