राजनीति
भाजपा अध्यक्ष नड्डाले गरे माओवादीको प्रशंसा

काठमाडौँ साउन १० —
भारत सरकारको नतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै माओवादीको प्रशंसा गरेका छन् । भाजपाको निमन्त्रणमा भारत भ्रमणमा रहेका माओवादी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वको टोलीसँग डेढ घण्टा भएको भेटवार्तामा नेपालमा नड्डाले माओवादीको भूमिका खुलेर प्रशंसा गरेका हुन् ।
भाजपाको निमन्त्रणामा माओवादीको यो दोस्रो उच्चस्तरीय भ्रमण हो । यसले माओवादी र भाजपाबीच सम्बन्ध बढ्दै गएको संकेत गरेको छ । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच विश्वासको वातावरण बन्दै गएको माओवादी नेताको भनाइ छ ।
माओवादी र भाजपाबीच सम्बन्ध सुधारका लागि भएको भ्रमणमा अध्यक्ष नड्डाले दुई पार्टीको सम्बन्ध विस्तारले दुई मुलुकको हितका लागि थप योगदान गर्ने बताएका थिए । भ्रमण टोलीका सदस्य एवं माओवादी सचिव चक्रपाणी खनालले भाजपा अध्यक्षसहित अरु नेतासँग फलदायी कुराकानी भएको बताए ।
‘नेपालको राजनीतिक परिवर्तनका लागि माओवादीले खेलेको भूमिकाप्रति भाजपा अध्यक्ष नड्डाले प्रशंसा गरेको खनालले बताए । भेटमा माओवादी नेताहरुले दुई पार्टीको सम्बन्ध विस्तार भएकोमा खुसी व्यक्त गर्दै दुई देश र पार्टीको हितको लागि भ्रमण आदानप्रदान गर्नुपर्ने बताएका थिए ।
एक वर्ष अघि भाजपा अध्यक्ष नड्डाको निमन्त्रणामा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतको भ्रमण गरेका थिए । त्यसपछि माओवादी र भाजपाबीच औपचारिक र अनौपचारिक भेटवार्ता भइरहेको छ ।
यसपटक भ्रमणमा रहेका माओवादी नेताहरुले जेठ तेस्रो साता प्रधानमन्त्री दाहालले भारत भ्रमणमा भएका सहमति कार्यान्वयनका लागि पहल गर्न भाजपा अध्यक्ष नड्डासँग आग्रह गरेका थिए ।
उनले भाजपा अध्यक्ष नड्डाले मित्रवत् सम्बन्धलाई बलियो बनाउन खुलेर कुराकानी गरेको जनाए । मुख्यालयमा भएको भेटवार्तामा नड्डाले भाजपाको सम्बन्ध विस्तारबारे जानकारी दिएका थिए ।
भ्रमणका क्रममा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग पनि माओवादी नेताहरुले दिवाभोज गरेका थिए । दिवाभोज वार्तामा क्वात्राले माओवादीले सरकारको नेतृत्व गरेका हुनाले दुई देशबीच सम्बन्ध बलियो हुने विश्वास गरेका थिए ।



























