देश/प्रदेश
प्रतिलिपि देखाउँदै रविन्द्र मिश्रले भने–राज्य जति भ्रष्ट भएपनि आफ्नो दायित्व छोड्न हुँदैन

चितवन, साउन १०–
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले भविष्यमा त्रुटि नगर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । २०७९ मंसिरमा भएको निर्वाचनको खर्च विवरण निर्वाचन सम्पन्न भएको दुई हप्तापछि जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा पुगेर पेश गरेको मिश्रले बताएका छन् ।
आयोगले तोकेको फारम भरेर खर्च विवरण पेश गरेपछि निर्वाचन कार्यालयले दिएको दर्ता नम्बरसहितको पत्र सार्वजनिक गर्दै मिश्रले राज्य जतिसुकै भ्रष्ट भएपनि आफ्नो दायित्व छोड्न हुँदैन भन्ने मान्यताका साथ सार्वजनिक जीवनलाई इमानदारीको कसीमा बाँधेको बताए ।
काठमाडौं क्षेत्र नं १ का उम्मेदवार मिश्रले निर्वाचनमा २४ लाख ४९ हजार ६०७ रुपैयाँ खर्च गरेका थिए । निर्वाचन सम्पन्न भएको एक महिनाभित्र निर्वाचनमा गरेको खर्च विवरण आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर पेश गर्नुपर्ने व्यवस्था छ ।
निर्वाचन खर्च विवरण पेश नगर्ने २४ सय भन्दाबढीको नाममा आयोगले मिश्रको नाम पनि समावेश गरेको थियो ।
‘मैले निर्वाचन आयोगले तयार पारेको ‘खर्च विवरण’ को फारम भरेर सो फारम निर्वाचन सकिएको दुई हप्तापछि नै अर्थात् २० मंसिर २०७९ मा काठमाडौँ क्षेत्र नं एकको निर्वाचन आयोगको कार्यालयमा आफैँ उपस्थित भई बुझाएको थिएँ। खर्च विवरण निर्वाचन आयोगको कार्यालयले सोही मितिमा कार्यालयको छाप सहित दर्ता नं १० तोकेर बुझिलिएको थियो, जसको प्रतिलिपि यसै विज्ञप्तिसाथ संलग्न गरेको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।




























