इच्छकामना

कृषि उत्पादनलाई सजिलै बजारमा पुर्‍याउन इच्छाकामना गाउँपालिकामा अनुदानमा कृषि एम्बुलेन्स

Banner

चितवन, साउन १-

चितवनको इच्छाकामना गाउँपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले आइतबार इच्छाकामना–२ मा अवस्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, वडा नं. २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ, वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतको रोहबरमा कृषक समूहका अध्यक्ष एकबहादुर चेपाङलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेको हो ।

विशेष गरेर इच्छाकामना गाउँपालिकाको पहाडी भूगोलका कृषकहरुले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहज ढुवानीको लागि आर्थिक वर्ष २०७९÷०८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराएको हो ।

एम्बुलेन्सको लागत भ्याटसहित २५ लाख ३४ हजार ९९९ रुपैयाँ ८३ पैसा रुपैयाँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले व्यहोरेको छ भने बाँकी २५ प्रतिशत रकम हपनी कृषक समूहले व्यहोरेको छ ।

गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानहरुले आफ्नो उत्पादन सहज र सर्वसूलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । ‘हामीले कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिँदै अगाडि बढेकोले कृषि उत्पादन बजारीकरणका थुप्रै योजनाहरु ल्याएका छौं, त्यसअन्तर्गत कृषि एम्बुलेन्स पनि एक हो’ –उनले भने ‘यसले किसानहरुको उत्पादन ढुवानीमा सहजीकरण गरी बेलैमा बजार पु¥याएर उचित मूल्य पाउने र बेलैमा ढुवानी गर्न नसकेर यतिकै खेर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौं ।’ एम्बुलेन्समा सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नं. १ र २ काउँले, हपनी, मायाटारलगायतका पहाडी भू–भागमा रहेका किसानहरु लाभान्वित हुनेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>