देश/प्रदेश

प्रचण्डको अभिव्यक्तिको सन्देश–‘प्रधानमन्त्री नपाए दिल्ली जानू’

Banner

काठमाडौं, असार २०–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गैरजिम्मेवार अभिव्यक्तिले फेरि विवादमा परेका छन् । आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको दाहालले बताएका हुन् । देशका प्रधानमन्त्रीको भनाइ मान्ने हो भने प्रधानमन्त्री बन्न जनताको घरदैलो होइन, दिल्ली धाउनुपर्छ ।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए । ‘उहाँ (सिंह)ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालको भनाइ थियो ।

दाहालले यसो भन्दा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि कार्यक्रममै उपस्थित थिए । ‘प्रधानमन्त्री बन्न दिल्ली निर्णायक’ भन्ने सन्देशसहित प्रधानमन्त्रीले दिएको सार्वजनिक अभिव्यक्तिलाई विश्लेषकहरूले दुर्भाग्यपूर्ण भनेका छन् । भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य संसद्बाट विश्वास पाएको प्रधानमन्त्रीले जनादेश बिर्सनु गलत भएको बताउँछन् । ‘प्रधानमन्त्री कसले बनाउने ? प्रतिनिधिसभाको बहुमतअनुसार प्रधानमन्त्री निर्वाचित हुने हो । प्रधानमन्त्री बन्न भारतको अनुहार हेर्ने प्रवृत्ति ठीक होइन,’ उनको भनाइ छ ।

राजनीतिशास्त्री हरि शर्मा प्रधानमन्त्री दाहाल पहिले बोलेर पछि पछुताउने नेतामा पर्ने टिप्पणी गर्छन् । यस्ता अराजनीतिक अभिव्यक्तिले व्यक्ति र राष्ट्रकै गरिमा घटाउने उनको भनाइ छ । भन्छन्, ‘यो अभिव्यक्तिले राष्ट्रको गरिमा होचो बनाउने काम गरेको छ, उहाँको मनमा धेरै उथलपुथल होला तर मुलुकको प्रधानमन्त्रीबाटै यस्तो गैरराजनीतिक अभिव्यक्ति आउनु हुँदैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>