राजनीति
जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेन्ः माधवकुमार नेपाल

काठमाडौं, असार १६-
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन । शासन, प्रशासन चलेको छैन । भ्रष्टाचार अहिले पनि व्याप्त छ । ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । यी सबैमा निगरानी जनताका प्रतिनिधिहरुकै हुन्छ । जनताको प्रतिनिधिको हैसियतले सांसदहरुले नै यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यस अर्थमा सांसदहरुको भूमिका कतिको प्रभावकारी हुन सकेको छ ? सांसदहरुको दवावले कति काम गर्न सकिएको छ ? यो आफ्नो ठाउँमा छ । सांसदहरुको भूमिकाको सन्दर्भमा सरकारको भूमिकाको महत्वपूर्ण भूमिका हुन्छ । सुन्नुपर्ने निकायले सुनिदिएन भने, गर्नुपर्ने निकायले चासो राखि दिएनन् भने त्यसले ठूलो समस्या खडा गर्छ । त्यसो हुनाले सबै बीचको सम्बन्ध अनुन्याश्रित छ ।’



























