राजनीति

प्राध्यापक, शिक्षक र विद्यार्थी कांग्रेस सदस्य हुन नपाउने व्यवस्थाका लागि छलफल गर्नुपर्छ: गगन थापा

Banner

काठमाडौं, असार १३-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलीयकरणले शिक्षा क्षेत्र तहसनहस भएको भन्दै प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न पार्टीभित्र बहसको प्रस्ताव गरेका छन्। उनले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य नै हुन नपाउने व्यवस्थाका लागि छलफल गरिनुपर्ने बताए।

‘विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख, उपकुलपतिलगायत कांग्रेस नै बनाउनुपर्ने?,’ कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को प्रथम क्षेत्रीय सम्मेलनमा थापाले भने, ‘एमालेले विभिन्न नाममा संगठन बनायो भनेर प्रतिस्पर्धामा हामीले पनि कांग्रेस बनाउनु पर्छ भन्ने होडमा शिक्षा क्षेत्र तहसनहस भयो, मानिसहरू त्यो कारणले गर्दा  रिसाएका छन्।’

थापाले राखेको यो प्रस्ताव पार्टीभित्र औपचारिक रूपमा छलफलमा प्रवेश पाइसकेको छैन। कांग्रेसले विगत ११ महिनादेखि केन्द्रीइ समिति बैठक नै राखेको छैन। त्रिभुवन विश्वविद्यालयलगायत कुनै पनि विश्वविद्यालयका प्राध्यापक अब कांग्रेसको ‍औपचारिक सदस्य बन्न नपाउने गरी छलफल अघि बढाउनुपर्ने उनले बताए।

‘पार्टीभित्र यो बहस किन नगर्ने?, राम्रो पढाउने प्राध्यापक राजनीतिमा आउन चाहे राजीनामा दिएर आउन सक्छन्। यो पटक हाम्रो वडामा आएर वडाध्यक्ष, मेयर लडदिनुहोस भनेर भनौंला,’ उनले भने।

विभिन्न पेशामा लागेका व्यक्तिहरू राजनीतिमा आउन चाहे उक्त पेशा छाडेर आउन सक्ने बाटो खुला नै रहेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>