चितवन विशेष

चार वर्षभित्र बालमैत्री महानगर घोषणा गरिन्छ: मेयर दाहाल

Banner

चितवन, जेठ २७-

भरतपुर महानगरपालिकाले अबको चार वर्ष भित्र बालमैत्री महानगर बनाउने भन्दै २६ बुँदे घोषणापत्र जारी गरेको छ ।

भरतपुर महानगरपालिका र युथ क्लब नारायणगढको संयुक्त आयोजनामा शनिबार भरतपुरमा भएको वृहत् बाल भेलामा बालमैत्री नगर बनाउने सूचकसहित घोषणापत्र जारी गरिएको हो ।

बाल अधिकारका विषयमा विभिन्न २६ वटा बुँदाहरु घोषणापत्रमा उल्लेख गरिएको छ । हरेक वडामा बाल सञ्जाल गठन गर्ने, वडाको बजेट निर्माणमा बालबालिकालाई सहभागी गराउने, बालबालिकाको विकासमा महानगरले बजेट विनियोजन गर्ने, बालअधिकारको सन्दर्भमा उल्लेख भएका सूचकहरु पूरा गर्ने गरी घोषणापत्र जारी गरेको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आउँदो २०८३\०८४ मा सबै वडालाई बालमैत्री बनाउने गरी कार्यक्रम सम्पन्न गर्ने बताइन् । ‘हामीले अन्य क्षेत्रमा जसरी काम गरेका छौं । त्यसैगरी बालअधिकार र उनीहरुको क्षेत्रमा पनि प्राथमिकताका आधारमा काम गर्नेछौं’ दाहालले भनिन् । हरेक विद्यालयमा खेलमैदान निर्माण गर्न लगाउने, उनीहरुको क्षमता वृद्धि गर्नको लागि अवसर प्रदान गर्ने, बालमैत्री विद्यालय, शौचालय निर्माण गराउनेलगायतका कामहरु भएको जानकारी दिइन् ।

कार्यक्रममा महानगर उपमेयर चित्रसेन अधिकारीले अवको एक वर्ष भित्र चारवटा वडा बालमैत्री घोषणा गरिने जानकारी दिए । बालमैत्री हुनका लागि सूचकहरु पूरा भएका वडालाई घोषणा गर्ने तयारी भएको उनले बताए । स्थानीय सरकारसँग बालबालिकाले आफ्नो अधिकार राख्न पाउने वातावरण निर्माण गर्दै लैजाने उनको विचार थियो ।

कार्यक्रममा नगर बाल सञ्जालका अध्यक्ष आदर्श तिवारीले स्थानीय पालिकाले कम्तीमा पनि बालबालिकासँग वर्षको एक पटक बसेर उनीहरुको मागका विषयमा सुनुवाइ हुनु पर्ने बताए । बालअधिकारको विषयमा कति गम्भीर भएका छौ भन्ने विषय बालबालिकाको मुखबाट सुनेपछि मात्र सत्य हुने उनले बताए । उनले घोषणा पत्रमा उल्लेख भएका बुदासँगै बाल न्यायालय सञ्चालन गर्नु पर्ने, अनलाइन सुरक्षा प्रदान गर्नु पर्ने लगायतका बुँदाहरुको विषयमा महानगरपालिका गम्भीर हुन अनुरोध गरे ।

कार्यक्रममा बालसञ्जालका प्रतिनिधि कृपा दाहालले समाजिक सञ्जालबाट बालबालिकाको अधिकार हनन् भएको बताइन् । आफ्नै अभिभावकबाट सामाजिक सञ्जालमा छोराछोरीलाई प्रयोग गरेर पैसा कमाउन लगाउने जस्ता काम भएकाले त्यसलाई रोक्नु पर्ने बताइन् ।
कार्यक्रममा स्वास्थ्य महिला तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले बालमैत्री महानगर बनाउन सरकारी निकायबाट मात्र नभइ सामाजिक संघसस्थाको पनि भूमिका रहेको बताइन् । कार्यक्रममा राष्ट्रिय बालपरिषद्का पूर्व कार्यकारी निर्देशक मिलन धरेलले आफ्नो अधिकारका लागि बालबालिका आफैले बोल्नु पर्ने बताए । सामूहिकरुपमा स्थानीय सरकारलाई दबाब दिन सकेमा अधिकार सुनिश्चित हुने उनले बताए ।

घोषणा पत्रमा महानगरप्रमुख , उपप्रमुख, स्वास्थ्य महिला तथा सामाजिक महाशाखा प्रमुख, बालसञ्जालका अध्यक्षले हस्ताक्षर गरेका छन् । युथ क्लब नारायणगढका अध्यक्ष शालिग्राम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय बालपरिषद्का पूर्व कार्यकारी निर्देशक मिलन धरेल, क्लबका उपाध्यक्ष दयाराम कँडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम महासचिव रामचन्द्र आचार्यले सञ्चालन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>