Breaking News

रकम अभावमा रोकियो देशकै ठूलो चितवन प्रदर्शनी केन्द्रको स्तरोन्नति

Banner

चितवन, जेठ ४-

देशकै ठूलो चितवन प्रदर्शनी केन्द्रको आवश्यक रकम अभावमा स्तरोन्नति रोकिएको छ ।

गेष्ट हाउस, सचिवालयका लागि भवन, फायर फाइटिङ (अग्नी नियन्त्रक यन्त्र) को काम अझै बाँकी छ । आवश्यक संरचना विस्तार गर्न नसकेको कारण पनि अपेक्षित लाभ उठाउन नसकेको भन्दै स्थानीय उद्यमी व्यवसायीले रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

सरकारसँगको सहकार्यमा चितवन प्रदर्शनी केन्द्र गुरू योजना बनाएर काम सुरू गरिएकोमा सरकारले प्रतिबद्धता अनुसारको रकम उपलब्ध नगराएपछि स्तरोन्तिमा समस्या भएको उनीहरूको भनाइ छ । ‘सरकारले हामी थप अनुदान सहयोग गर्छौ भनेरै हामीले काम अघि बढाएका थियौं,’ चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कडेँलले भने, ‘हाम्रो ७\८ लाखको दायित्व भइसक्यो । सरकारले पैसा दिएको छैन । त्यही भएर गुरूयोजना अनुसार पूरा गर्न सकेका छैनौं ।’ उनका अनुसार प्रदर्शनी केन्द्र सम्पन्न गर्न एक अर्ब १० करोड रूपैयाँ आवश्यक छ । त्यसमध्ये सरकारबाट उद्योगी व्यवसायीले ६ करोड रूपैयाँ उपलब्ध गराउन माग गरेका छन् ।

सरकारले भने चितवन प्रदर्शनी केन्द्रको लागि पछिल्लो तीन आर्थिक वर्षदेखि बजेट नै छुट्याएको छैन । ‘हामीले आर्थिक वर्ष २०७६÷७७ सम्म हरेक वर्ष यो प्रदर्शनी केन्द्रको लागि रकम विनियोजन गरेका थियौँ, त्यसपछि हामीले अहिलेसम्म भएको प्रगति, दायित्वको विषयमा प्रतिवेदन माग गरेका थियौँ’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका योजना कार्यान्वय शाखा प्रमुख जीवलाल भुषालले भने ‘पछिल्ला आर्थिक वर्षमा हामीले बजेट छुट्याएका छैनौं ।’

चितवनका व्यवसायीहरूले भने प्रदर्शनी केन्द्र यस क्षेत्रको उद्योग प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै थप काम गर्नको लागि सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले नै प्रतिबद्धता गरेको कारण पनि अघि बढ्नेमा व्यवसायीहरू आशावादी छन्। ‘प्रधानमन्त्री प्रचण्डले पहिले यहाँ आएर तपाइँहरू काम नरोक्नुस् हामी ६ करोड रुपैयाँ दिन्छौं भनेका थिए । हामी यसबारे पुनः प्रधानमन्त्रीलाई भेटेर सम्झाउँछौं,’ संघका अध्यक्ष कडेँलले भने ।

चितवन प्रदर्शनी केन्द्र २०७४ सालबाट बनाउन सुरू गरिएको हो । यो पूर्णत नेपाल सरकारको जग्गा हो । यसलाई उद्योगी व्यवसायीले २९ वर्षका लागि भाडामा लिएका छन् । सो बापत उनीहरूले सरकारलाई वार्षिक ७ लाख ७५ हजार रूपैयाँ तिर्नुपर्छ । यहाँका उद्योगलाई प्रवर्द्धन गर्न प्रदर्शनी केन्द्रको स्थापना गरिएको हो चितवन उद्योग संघका अध्यक्ष कडेँल बताउँछन् । उनका अनुसार यहाँको प्रदर्शनी केन्द्र सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र हो । यो दुई विघा सात कठ्ठा जमिनमा बनेको छ । यो प्रदर्शनी केन्द्र भारतीय मोडलमा बनेको हो ।

प्रदर्शनी केन्द्र नहुँदा यहाँका उद्योगीले खोलाको किनारमा टेन्ट टाँगेर हाट बजार लगाउँथे । त्यहाँ व्यापार त हुन्थ्यो तर अन्तर्राष्ट्रियस्तरका प्रविधि आउँदैन थिए । अस्थायी सामानमा खर्च गर्नुभन्दा एक पटक बनाइसकेपछि सधैंलाई हुने देखेर प्रदर्शनी केन्द्रको अवधारणा आएको हो ।

प्रदर्शनी निर्माणमा हालसम्म २७ करोड बढी लगानी भइसकेको छ । त्यसमध्ये सरकारले १५ करोड रूपैयाँ अनुदान दिएको छ भने बाँकी पैसा उद्योगी व्यवसायीले हालेका छन् । ‘यहाँका उद्योगीले आफ्नो उद्योग सुरू गर्दा गरेको लगानीभन्दा बढी प्रदर्शनी केन्द्रमा लगानी गरेका छन् । त्यो चन्दा हो, फिर्ता हुने पैसा होइन,’ कडेँलले भने, ‘२९ वर्षपछि सरकारले नवीकरण गरिदिएन भने त्यो सरकारकै सम्पत्ति हुन्छ ।’

प्रदर्शनी केन्द्रमा प्रदर्शनी हल, चितवन उद्योग संघको कार्यालय र फुडकोट बनिसेको छ । फुडकोटमा खानेकुरा बेच्न राखिन्छ । प्रदर्शनी हेर्न आउनेलाई प्रदर्शनी केन्द्र भित्र खाजा खाने ठाउँको लागि फुडकोट स्थापना गरिएको हो । हलभित्र २५० वटा स्टल अट्नेछन् । एउटा स्टल ९ वर्ग क्षेत्रफलको छ । कार्यक्रमको प्रकृति हेरेर स्टलको पैसा तोकिने कडेँलले जानकारी दिए । उनका अनुसार स्थानीयस्तरको प्रवर्द्धन गर्ने वस्तुहरूलाई निःशुल्क पनि स्टल दिने गरिएको छ। प्रदर्शनी केन्द्र चार वर्षदेखि सञ्चालनमा छ । यहाँ अहिलेसम्म २० वटा प्रदर्शनी भयो ।

(सेतोपाटीको लागि सुनिता सिटौलाको रिपोर्ट)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>