राजनीति
भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्छः उपेन्द्र यादव

काठमाडौँ, वैशाख २९-
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाले नेपालको साख, छवि अन्तर्राष्ट्रिय जगतमा धुमिल भएको बताएका छन् । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख कमजोर भएको बताएका हुन् ।
उनले सरकारमा रहेकै जिम्मेवार व्यक्ति नै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए । अध्यक्ष यादवले भने, ‘देशकै साख र छवि धुमिल भएको नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष हुनुपर्छ । यसमा संलग्न कुनैपनि व्यक्तिलाई छाड्नु हुँदैन ।’
उनले संघीय सरकारमा दुईरतीन दिनभित्रै मन्त्री पठाउने र मधेश प्रदेश सरकार पनि विस्तारका लागि होमवर्क सुरू गरिसकेको बताए । यादवका अनुसार संघ र प्रदेशको समेत मन्त्रालय टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीले पाएका छन् ।
उनले अलपत्र परेको संघीय निजामती ऐन र प्रहरी समायोजन विधेयक सबैभन्दा जरुरी भएको पनि बताए ।



























