देश/प्रदेश
एमाले सचिव रायमाझी र उनका छोराविरूद्ध पक्राउ पुर्जी

काठमाडौं, वैशाख २०-
पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको उच्च प्रहरी स्रोतले जानकारी दियो।
रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। टोपबहादुर रायमाझी अहिले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य छन्।
रायमाझीले आफू अर्घाखाँचीमा रहेको र पक्राउ पुर्जीबारे थाहा नभएको बताए।
यस्तै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो। उनी आफैं परिसरमा उपस्थित भएपछि प्रहरीले पक्राउ गरेको हो।
यस घटनामा उनका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी पक्राउ परिसकेका छैनन्। प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ। यता दुलालले नै मन्त्रालयमा रहेका राईसँग समन्वय गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

























