राजनीति

अडियो सांसद ढाकाकुमारकै भएको रास्वपाको अनुशासन समितिको ठहर

Banner

काठमाडौं,चैत २८-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुशासन समितिका एक सदस्यले पछिल्लो समय विवादित बनेको अडियो सांसद ढाकाकुमार श्रेष्ठकै भएको ठहर आफूहरूले गरेको बताएका छन् । सांसद श्रेष्ठले समितिसमक्ष बयानका क्रममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको उक्त अडियो आफ्ने नभएको जिकिर गरेका थिए ।

पार्टी सभापति रवि लामिछानेलाई इमेलमार्फत मंगलबार तीनपन्ने प्रतिवेदन बुझाएको समितिका पदाधिकारीले आज केन्द्रीय समिति बैठकमा ‘ब्रिफिङ’ पनि गर्दै छन् । “हामीलाई केन्द्रीय समितिमा पनि ब्रिफिङ गर्न भनिएको छ । प्रतिवेदनका बारेमा त्यहाँ पनि हाम्रातर्फबाट ब्रिफिङ हुनेछ,” अनुशासन समितिका ती सदस्यले  भने, “उहाँले प्रसाईंसँग आफूले कुरा नगरेको र त्यो अडियो पनि आफ्नो नभएको बताउनुभएको छ । तर, हाम्रो बुझाइमा प्रसाईंसँगको कुराकानीमा भएको अडियो उनको नै हो ।”

अनुशासन समितिसँग सांसद श्रेष्ठले सहयोग मागेको र आफूलाई असहयोग गरे ‘कोर टिम’ प्रमाणसहित सार्वजनिक गर्ने धम्की दिएको विषय भने ती सदस्यले अस्वीकार गरे । “हामीसँगको बयानमा उहाँले त्यस्तो सहयोगको अपेक्षा वा धम्की दिनुभएको छैन । बाहिर आएको कुराले म अचम्मित पनि छु,” ती सदस्यले भने, “अहिले उहाँले अडियो नै मेरो होइन भन्नुभएको छ । भोलि कारबाही भएपछि अडियो मेरै हो, तर कोर टिम फलाना–फलाना हुन् भन्दैमा कसले पत्याउँछ ? तपाईंहरू पत्याउनुहुन्छ ?”

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>