राजनीति

निर्वाचनकै बेलाको गठबन्धन सरकार छ, जनतासँग गरेको प्रतिबद्धता पूरा गर्छ: उपप्रधानमन्त्री खड्का

Banner

काठमाडौं, चैत २७-

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धन अनुसार बनेकाले जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने गरी सरकारले काम गर्ने बताएका छन्।

सोमबार सुर्खेतको पन्चपुरी नगरपालिकाको बाबियाचौरमा नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर-२ को प्रथम क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको सुदृढीकरण गर्न र देशको तीव्र विकासका लागि वर्तमान सरकारले काम गर्ने बताएका हुन्।

‘संघ र प्रदेशको निर्वाचनमा जनतासँग हामीले मत माग्दा शान्ति प्रक्रियालाई पूर्णता दिन्छौं। संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्छौं। तीव्रतर गतिमा देशको विकास गर्छौं भनेका थियौं, उपप्रधानमन्त्री खड्काले भने, चुनावका बेला मतदातासँग गरिएका बाचा अनुसारका काम गर्न अहिलेको सरकार लागिरहेको छ।’

द्वन्द्व पीडितहरूलाई न्यायिक निरूपण मार्फत न्याय दिने र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराइने उनले बताए।

त्यस्तै पुस १० गते बन्नुपर्ने सरकार चैत १७ गते बनेको बताउँदै उनले यो बीचको समय खेर गएको पनि बताए। पुस १० को अप्राकृतिक गठबन्धन भत्केर प्राकृतिक गठबन्धन बनेको बताउँदै यसले देश र जनताका पक्षमा काम गर्ने उनको भनाइ थियो।

‘एजेन्डामा सहमत भएका दलहरू एक ठाउँमा रहेकाले ती पूरा हुन्छन्,’ उनले भने।सरकारले अहिले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने पनि उनले उल्लेख गरे।त्यस्तै कर्णालीमा भएका विकासका बहुआयामिक सम्भावना सदुपयोग गर्दै विकासको गति तीव्र पार्ने गरी केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>