अन्तर्राष्ट्रिय
काबुलमा बेलायती दूतावासको सुरक्षा गरेका गार्डलाई पक्रेर नेपाल फिर्ता पठाउँदै बेलायत

बेलायत, चैत २२-
बेलायतले वर्षौंसम्म अफगानिस्तानको राजधानी काबुलमा बेलायती राजदूतावासको सुरक्षामा खटिएका नेपालीलाई अहिले पक्राउ गरेर नेपाल फिर्ता पठाउने तयारी गरेको छ।
समाचार पत्र द गार्डियनका अनुसार सन् २०२१ को अगस्टअघिसम्म काबुलमा बेलायती तथा क्यानडेली राजदूतावासको सुरक्षामा खटिएका नेपाली सुरक्षा गार्डलाई बेलायतले अहिले नेपाल फिर्ता पठाउन लागेको हो।
तालिबान विद्रोहीहरूले काबुल कब्जा गरेपछि ११ नेपाली र २ भारतीय सुरक्षा गार्डलाई काबुलबाट उद्धार गरी बेलायत लगिएको थियो। तीमध्ये केहीलाई बेलायतमा स्थायी बसोबासको अनुमति दिइए पनि केहीलाई पक्राउ गरेर राखिएको छ।
तिनैमध्येका एक हुन् ३७ वर्षीय बमबहादुर गुरूङ। एक दशकसम्म अफगानिस्तानमा विभिन्न देशका राजदूतावासमा सुरक्षा गार्ड बनेका गुरूङ तालिबानले सत्ता कब्जा गर्नुअघि बेलायत र क्यानडाको सुरक्षाको सुपरीवेक्षक थिए।
बेलायत पुर्याएपछि सुरूमा उनले बेलायतमै स्थायी बसोबासका लागि प्रक्रिया सुरू गरेका थिए।
सन् २०२२ को फेब्रुअरीमा उनको निवेदन स्वीकृत भएको र बायोमेट्रिक गर्नुपर्ने जानकारी आएको थियो।
तर त्यही वर्ष जुन बेलायतको अफगानी पुनर्स्थापना टिमबाट उनलाई इमेल आयो जसमा लेखिएको थियो( अफगानिस्तानबाट भएको उद्धार सहयोग र सद्भाव थियो। त्यसको अर्थ अफगान नागरिक पुनर्स्थापना स्किमअन्तर्गत बेलायतमा बस्न योग्य हुनु होइन।
गत मार्चमा बेलायतका अधिकारीहरूले गुरूङसहित अफगानिस्तानबाट उद्धार गरिएका अरू मानिसहरूलाई पक्राउ गरे र अहिले नियन्त्रणमा राखेका छन्।
‘मलाई गिरफ्तार गरेको बेला म काममा जान ठिक्क परेको थिएँ। बेलायत सरकारले ममाथि गरेको व्यवहारले म चकित र दुस्खित छु,’ गुरूङले गार्डियनसँग भनेका छन्,‘काबुलमा मैले वर्षौंसम्म बेलायती दूतावासका कर्मचारीको सुरक्षा गरें। हामी कसैको पनि आपराधिक रेकर्ड छैन। मेरो सपना बेलायतमै बस्ने र ब्रिट्रिस आर्मीमा सेवा गर्ने छ।’
अधिकारीहरूले आफूहरूलाई अप्रिल ११ तारिखमा जबरजस्ती सम्बन्धित देशमा फिर्ता पठाउने बताएको उनले जानकारी दिए।

























