देश/प्रदेश
अब वैदेशिक रोजगारीमा जानेले अधिकतम पाँच वर्षको श्रम स्वीकृति पाउने

काठमाण्डौ, चैत १०-
वैदेशिक रोजगारीमा जानेले अब अधिकतम पाँच वर्षको श्रम स्वीकृति पाउने भएका छन् । यसअघि प्रदान गर्नै आएको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाउँदै अधिकतम पाँच वर्षसम्मको श्रम स्वीकृति प्रदान गरिने तयारी गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुभयो ।
‘अहिलेको प्रावधान अनुसार दुई वर्षको श्रम स्वीकृति प्रदान गर्दै आएको थियौँ, तर कतिपय देशले हाम्रा नागरिकलाई तीन वर्षको करार सम्झौता दिएका हुन्छन्’ उहाँले भन्नुभयो ‘त्यही ग्यापलाई एउटै बनाउन यस्तो निर्णय गरिएको हो ।’
खाडीका देश र मलेसिया लगायतका देशमा जानेहरूलाई दुई वर्षका लागि प्रदान गर्दै आएको श्रम स्वीकृतिको प्रावधान हटाएर करार अवधिको आधारमा श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ ।
सरकारको यो निर्णयसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकले करार अवधिको आधारमा श्रम स्वीकृति लिन सक्नेछन् । तर करार अवधिको आधारमा श्रम स्वीकृति दिँदा पनि अधिकतम पाँच वर्षको मात्र पाइने छ ।