चितवन विशेष
रास्वपाको सदस्य बन्न एक हजार शुल्क लाग्ने, शुल्क नदिएकाको सदस्यता खारेज

चितवन, चैत १०–
राष्ट्रिय स्वतन्त्र पार्टीले सदस्यता शुल्क बापत एक हजार रुपैयाँ लिँदै आएको छ । यसअघि एक रुपैयाँ तिरेर वा निःशुल्क सदस्यता लिएकाहरुको सदस्यता खारेज भएपछि रास्वपाले एक हजार रुपैयाँ लिएर सदस्यता वितरण गरेको हो ।
रास्वपा चितवनका संयोजक कृष्णप्रसाद भुषालले पाँच वर्षको लागि एकमुष्ट एक हजार रुपैयाँ लिएर सदस्यता प्रदान गर्ने गरिएको दाबी गरे । सदस्य बनेपछि दिइएको रसिदमा भने पाँच वर्षको शुल्क भनेर उल्लेख गरिएको छैन । पार्टीको सदस्य बढाउन रास्वपाले गाउँ–गाउँमा सदस्यता विस्तार टोली परिचालन पनि गरेको छ ।
भुषालका अनुसार चितवनमा यसअघि एक लाख जनाले निःशुल्क सदस्यता लिएका थिए । उनीहरुको सदस्यता अयोग्य भएको छ । एक हजार रुपैयाँ तिरेर सदस्य बन्नेको संख्या करिब १५ सय रहेको उनी बताउँछन् ।
‘पाँच वर्षको लागि एकैचोटी एक हजार रुपैयाँ सदस्यता शुल्क लिइएको हो’, उनले भने, ‘रसिदमा पाँच वर्षको शुल्क भनेर उल्लेख गर्न छुटेको हुनसक्छ । उहाँहरुको परिचय पत्र आएपछि त्यसमा भने पाँच वर्षको शुल्क भुक्तानी गरेको उल्लेख भएरै आउँछ ।’
अनलाइन मार्फत शुल्क तिरेर पनि पार्टीको सदस्यता लिन सकिने उनले बताए । ‘निःशुल्क सदस्यता लिएको सदस्यता आधिकारीक नमान्ने निर्णय भएको हुँदा अब एक हजार तिरेर अनलाईन फारम भरेपछि मात्रै सदस्यता प्रमाणित हुन्छ’, उनले भने, ‘त्यसपछि उहाँहरुको परिचय पत्र पनि आउँछ ।’
रास्वपाले दिएको रसिद




























