देश/प्रदेश
सडक अलपत्र पारेपछि स्थानीयले टाँसे ठेकेदार हराएको सूचना

पर्वत, फाल्गुन २४-
सडक निर्माण अलपत्र पारेपछि जलजला गाउँपालिकाका स्थानीयले ठेकेदार हराएको सूचना टाँसेका छन् । जलजला–७ धाइरिङका बासिन्दाले सोमबार सडक अलपत्र बनाउने निर्माण व्यवसायी हराएको सूचना र तस्बिरसहितको ब्यानर स्थानीयले टाँसेका हुन् ।
गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक आयोजनाअन्तर्गतको सो सडक २०७८ मंसिर ५ मा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । आगामी असारसम्मको म्याद भए पनि अहिलेसम्म काम नै सुरु नभएपछि स्थानीयले विरोध जनाएका हुन् । पछिल्लो १८ महिनायता निर्माण कार्य ठप्प बनेको सडक निर्माणको काम अघि बढाउन पूर्वाधार विकास कार्यालय र भौतिक योजना तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि आन्दोलनमा स्थानीय उत्रिएका छन् ।
मिलनचोकदेखि सल्यान घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजनाको ठेकेदार कम्पनी हिमदुङ एन्ड थोकर हो । कम्पनीका सञ्चालक बहादुरसिंह लामा नुवाकोटको क्षेत्र (ख) बाट निर्वाचित नेपाली कांग्रेसको वाग्मती प्रदेशसभाको संसदीय दलको नेतासमेत हुन् । उनै लामा सञ्चालक रहेको कम्पनीले २०७६ मंसिर ६ मा २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो ।

























