चितवन विशेष
सप्तगण्डकी क्याम्पसको क्याम्पस प्रमुखमा पुनः मणिराज महतो

चितवन, फागुन २१-
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा पुनः मणिराज महतो चयन भएका छन् ।
क्याम्पस प्रमुखको रुपमा चार वर्षे कार्यकाल पूरा गरेका महतोलाई क्याम्पस सञ्चालक समितिले शनिबारबाट लागू हुने गरी पुन अर्काे चार वर्षको लागि क्याम्पस प्रमुख नियुक्त गरेको हो । सबैसँग घुलमिल हुन सक्ने क्षमता हुनुको साथै आदिबासी जनजाति चौधरी समुदायको प्रतिनिधित्व गर्ने क्याम्पसको अग्रज प्राध्यापक भएकोले पनि महतोलाई सञ्चालक समितिले सर्वसम्मतरुपमा पुनः क्याम्पस प्रमुखमा दोहोर्याएको जनाइएको छ ।
चितवनको पटिहानीमा जन्मिएका महतोले प्राथमिक शिक्षा पटिहानीबाट नै पूरा गरेपछि गीतानगरको अरुणोदय माध्यमिक विद्यालयबाट एसएएलसी उर्तीर्ण गरेपछि उच्च शिक्षा काठमाडौँबाट लिएका थिए । महतोले काठमाडौँको ताहाचल क्याम्पसबाट आईएड गरे । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट गणित विषयमा बीएड र एमएड गरेपछि सप्तगण्डकी बहुमुखी क्याम्पसमा २०५० सालमा प्राध्यापकको रुपमा काम सुरु गरेका थिए ।
क्याम्पसको गणित विभागको प्रमुख समेत रहेका प्राध्यापक महतोले यसअघि सात वर्षसम्म प्लस २ कार्यक्रम प्रमुख, साढे चार वर्ष वरिष्ठ सहायक क्याम्पस प्रमुख र चार वर्ष क्याम्पस प्रमुखको रुपमा काम गरिसकेका छन् ।
पुनः क्याम्पस प्रमुखमा नियुक्त भएपछि महतोले क्याम्पसलाई पूर्णतया डिजिटलाइजेसन गर्नमा आफूले महत्वपूर्ण भूमिका खेल्ने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ क्याम्पस सञ्चालक समितिले पुनः मलाई विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी दिएको छ । कक्षा कोठाका गतिविधिलाई नतिजामा केन्द्रित गर्ने देखि भौतिक पूर्वाधारलाई अझ आधुनिक बनाउनेमा मेरो मुख्य भूमिका हुनेछ । समयको माग अनुसार प्रविधिमैत्री रोजगारमूलक शिक्षाको लागि मैले काम गर्नेछु । क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुलाई समयअनुसार स्थायी र बढुवा गर्ने काममा पनि मेरो प्राथमिकता रहनेछ ।’

























