देश/प्रदेश

चितवन–२ उपनिर्वाचन : फागुन १६ सम्ममा दल दर्ता गर्न आयोगको आह्वान

Banner

काठमाडौँ, फागुन ६–

चितवन क्षेत्र नं २ मा बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि फागुन १६ गतेसम्ममा दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।

निर्वाचन आयोग राजनीतिक दल शाखाका प्रमुख तथा उपन्यायाधिवक्ता गुरू वाग्लेले उपनिर्वाचनमा उमेदवार बन्नका लागि दल दर्ता हुनुपर्ने बताए । उनले भने, ‘फागुन १० देखि ६ दिनसम्म अर्थात् फागुन १६ सम्ममा राजनीतिक दलहरुलाई दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।’

आयोगले नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगको कार्यालयमा दल दर्ता गर्नुपर्ने वाग्ले बताउँछन् । उनका अनुसार गत मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११६ दल दर्ता भएका थिए । दर्ता भएकामध्ये ८७ दलले चुनावमा भाग लिएका थिए ।

निर्वाचन आयोगले चैत २० गते उमेदवार मनोनयन, २१ गते उमेदवारको विरोधमा उजुरी, २२ गते मनोनयन पत्र उजुरी उपर जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । चैत २३ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको भनाइ छ ।

उपनिर्वाचनका लागि फागुन १ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको आयोगको भनाइ छ । मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ मा निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>