देश/प्रदेश

बागमती प्रदेशमा सवारी लाइसेन्सको ‘ट्रायल’मा ७० अंक प्रणाली लागु

Banner

हेटौंडा, फागुन २–

बागमती प्रदेशमा अब ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल पास हुने व्यवस्था आजदेखि लागू हुँदैछ। बागमती प्रदेशभरि एकैपटक ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल पास हुने प्रणाली लागू हुने भएको हो। प्रदेश सरकारले मंगलबारदेखि यातायात व्यवस्था विभागबाट जारी निर्देशिका, २०७७ लागू गर्न लागेको हो।

प्रदेश सरकारको प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको अनुसार मंगलबार बिहान ८ बजे प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राधेराधे स्थित ट्रायल सेण्टरवाट उक्त प्रणालीको शुभारम्भ गर्दैछन्। त्यसैगरी प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले सतुंगलस्थित ट्रायल सेण्टर ठूलो भर्‍याङ कार्यालयबाट सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको निरौलाले जानकारी दिए।

फागुन १ गते नै सबै कार्यालयबााट सेवा सञ्चालन गर्ने भनिए पनि सार्वजनिक बिदा परेकोले मंगलबार सेवा सुरु गर्न लागेको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ। यसअघि सोमबार चाबहिलस्थित कार्यालयको ट्रायल सेन्टरबाट उपत्यकाका ट्रायल परीक्षा लिने कार्यालयका प्रमुख एवं सम्बन्धित कर्मचारी र श्रम, रोजगार तथा यातायात मन्त्रीको उपस्थितीमा डेमो समेत गरिएको थियो। मंगलबारबाट चावहिल, राधेराधे, ठूलेभर्याङ र हेटौडा स्थित कार्यालयवाट ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागू हुनेछ। एकान्तकुनामा केही व्यवस्थापकीय कार्य पूरा नभएकोले केही दिन पछिमात्र यो व्यवस्था बमोजिम ट्रायल परीक्षा शुरू गरिने जनाइएको छ।

यसअघि प्रदेशका तत्कालिन श्रम,रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ३ पटकसम्म लागू गर्न खोजेपछि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले रोकेका थिए। प्रदेशको वर्तमान श्रम, रोजगार तथा यातायात मन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै यो प्रणाली लागू गर्न तदारुकता देखाएका थिए। उनकै पहलमा मंगलबारबाट प्रदेशभर यो प्रणाली लागू हुँदैछ। अन्य प्रदेशमा लागू भइसकेको प्रणाली बागमती प्रदेशमा मात्रै रोक्न नहुने भन्दै मन्त्री श्रेष्ठले मंगलबारदेखि बागमती प्रदेशमा पनि यो प्रणाली लागू गर्ने बताए। सानो त्रुटीमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुको साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने प्रकरण बढेको उनको भनाइ छ।

यो प्रणालीमा मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ। त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिनेछन्। प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ (एट आकार) को अंकभार २० तोकिएको छ। दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन। दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरैपटक खुट्टाले भुईँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>