Breaking News

सरकारले आयातमा र कर्जामा कडाइ गरेपछि नेपालको अर्थतन्त्र सुधारोन्मुख

Banner

काठमाडौं,माघ २४-

सरकारले आयातमा र कर्जामा कडाइ गरेपछि नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । विदेशी पर्यटक आगमनमा र रेमिट्यान्स बढेपछि शोधानान्तरस्थिति बचतमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगातार सुधारोन्मुख देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनका अनुसार विदेशी मुद्राको सञ्चितिमा साउनदेखि पुससम्ममा आर्थिक स्थिति सबल देखिएको हो । यद्यपि, यो अवधिमा ७ दशमलव २६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पुससम्ममा विदेशी मुद्राको सञ्चिति १० अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ । गत वर्ष विदेशी मुद्राको सञ्चिति लगातार घटेपछि देश श्रीलंकाको जस्तै जोखिममा पर्न सक्ने चिन्ता प्रकट गर्न थालिएकोमा अहिले भने सरकारसँग ९ महिनालाई आयात धान्न पुग्नेगरी विदेशी मुद्रा सञ्चय भएको छ । केन्द्रीय बैंकले ७ महिनालाई पुग्नेगरी विदेशी मुद्रा सञ्चय गर्ने मौद्रिक नीति बनाएको थियो ।

विदेशी मुद्रा सञ्चिती १० अर्ब ३० करोड अमेरिकी डलर पुग्यो

विदेशबाट आयात हुने वस्तुको परिमाण घटेको तथा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत रेमिटेन्सको आप्रवाहमा सुधार भएकाले विदेशी मुद्राको सञ्चिति बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा आयात २०.७ प्रतिशतले, निर्यात ३२.० प्रतिशतले घटेको छ । यसले गर्दा कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा आयात ५१.१ प्रतिशतले बढेको थियो । पुससम्म नेपालले ७ खर्ब ९२ अर्ब ६७ करोड मूल्यको वस्तु आयात गरेको छ । यो अवधिमा नेपालले ८० अर्ब ८१ करोडको निर्यात गरेको छ । निर्यात गत वर्षको तुलनामा एकतिहाइले खुम्चिएको हो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ७ खर्ब ११ अर्ब ८६ करोड छ । यो गत वर्षको तुलनामा १९.२ प्रतिशत कम हो ।

आयातमा संकुचन र रेमिट्यान्स आप्रवाह बढेपछि शोधानान्तर स्थिति ९७ अर्ब १० करोड बचतमा आएको छ । गत वर्षको यही अवधिमा २ खर्ब ४१ अर्बले घाटामा थियो । मुलुकबाट विदेशी मुद्रा बाहिरिनेभन्दा भित्रिने बढेपछि शोधनान्तर स्थिति बचतमा आउने गर्छ । पुससम्म रेमिटेन्सको आप्रवाह १३.९ प्रतिशतले (डलरमा) बढेर ४ अर्ब ५० करोड पुगेको छ । गत वर्षको यही अवधिमा रेमिटेन्स ५.७ प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ३७ अर्ब २९ करोड र अमेरिकी डलरमा १० अर्ब ३० करोड रहेको छ । विदेशी विनिमय सञ्चितिको आधारमा १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । ६ महिनामा संघीय सरकारको खर्च ५ खर्ब ७६ अर्ब ३५ करोड र राजस्व परिचालन ४ खर्ब ५८ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.२ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.० प्रतिशत रहेको छ ।

सोमबार सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीयस्थितिको तथ्यांकमा केन्द्रीय बैंकले मुद्रास्फिति ७.२६ प्रतिशतले बढेको जानकारी दिएको हो । गतवर्षको यही अवधिमा बजार महँगी ५.६५ प्रतिशतले बढेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>