देश/प्रदेश

श्रीलंकाको भ्रमण पूरा गरी परराष्ट्रमन्त्री स्वदेश फिर्ता

Banner


काठमाडौं, माघ २२–

परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल श्रीलंकाको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छन् ।

श्रीलंकाको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गरेकी थिइन् । स्वदेश फर्कने क्रममा मन्त्री पौड्यालले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै श्रीलंकाको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय साइड लाइन भेटवार्ता भएको जानकारी गराइन् ।
उनले त्यहाँका राष्ट्रपति रणिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेटवार्ता गरी दुई देशबीचको आपसी हित र चासोका विविध विषयमा छलफल भएको जानकारी दिइन् ।

मन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्यका लागि आग्रह गरेको बताइन् । यस अवसरमा उनले भारतका विदेश राज्यमन्त्री, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।

ती सबै भेटमा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबीच आपसी छलफल, सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेलगायत विषयमा आफूले स्पष्ट कुरा राखेको बताइन् ।
दक्षिण एसियाली मुलुकहरु जलवायु परिवर्तनको जोखिममा रहेको सन्दर्भमा आगामी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा यस क्षेत्रको एउटै आवाज बनाउनका लागि अनौपचारिक नेटवर्क स्थापना गर्न सबैसँग कुरा गरेको पनि मन्त्री पौड्यालले जानकारी दिइन् ।

यसैगरी बंगलादेशसँग ऊर्जा व्यापार र माल्दिभ्ससँग त्यहाँ नेपाली चिकित्सक र नर्स पठाउने विषयमा कुराकानी भएको बताइन् । श्रीलंकाले उक्त समारोहमा दक्षिण एसियाका सबै परराष्ट्र मन्त्रीलगायत विशिष्ट पाहुनालाई आमन्त्रण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>