खेलकुद
उज्ज्वल भविष्यका लागि नेपाली फुटबल खेलाडी विशाल राई अष्ट्रेलिया प्रस्थान

काठमाडौँ, माघ २०-
नेपाली फुटबल खेलाडी विशाल राई अष्ट्रेलिया गएका छन् । राष्ट्रिय टिमका सदस्य समेत रहेका विशालले मच्छिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग खेल्दै आएका थिए । तर, पछिल्लो समय केही खेलाडी विदेश पलायन हुँदा उनी आज पनि अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।
मछिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठ लगायत खेलाडीहरुले विशाललाई उज्ज्वल भविष्यको शुभकामनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाई गरेका छन् । म्यानेजर श्रेष्ठले विदाईको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

पछिल्लो समय नेपाली राष्ट्रिय टिममा खेलिसकेका र खेलिरहेकादेखि भविष्यमा खेल्न सक्ने युवा खेलाडीहरु पनि अष्ट्रेलिया गइरहेका छन् । नेपालका करिब ४० खेलाडी अहिले अष्ट्रेलियामा कम्युनिटी लिग खेलिरहेका छन् ।
नेपालमा नियमित खेल नहुने र भविष्य पनि अन्यौल हुने भन्दै केही समयअघि मात्रै चर्च ब्वाइजमा अनुबन्ध भएका तेज तामाङ र दिनेश राजवंशी, संकटामा अनुबन्ध भएका गौतम श्रेष्ठ, खुमलटारमा अनुबन्ध भएका नितिन थापा मगर अष्ट्रेलिया गएका थिए ।
























