Breaking News

अख्तियारद्धारा चितवनका प्रधानाध्यापक कँडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Banner

चितवन,माघ १९-

शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा भीमोदय नमुना माध्यमिक विद्यालय चितवनका प्रधानाध्यापक हरिप्रसाद कँडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवन कालिका नगरपालिका–५ बस्ने प्रधानाध्यापक कँडेलमाथि बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । झुठा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी भीमोदय माविको शिक्षक पदमा नियुक्त भई हालसम्म लाभ लिई भ्रष्टाचार गरेको देखिएकाले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिमानाको सजाय हुने अभियोगसहितको माग/दाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

कँडेलले जागिर प्रवेश गर्दा भीमोदय माविबाट एसएलसीदेखि नेपाल–भारतका विभिन्न विश्वविद्यालयमा विभिन्न तह उत्तीर्ण गरेको र विद्यावारिधि अध्ययनरत रहेको भुठा विवरण फाराममा उल्लेख गरेका छन् । उनको कागजातका विषयमा आयोगका अनुसन्धान अधिकृतद्वय सेमन्तमणि आचार्य र राजकुमार श्रेष्ठले अनुसन्धान गरेका थिए । प्रधानाध्यापक कँडेलको शिक्षा विकास तथा समन्वय इकाई चितवनमा दुईवटा फाइल फेला परेको, फाइलमा सिटरोल फाराम संलग्न नभएको, दुईवटा फाइल खडा भएको सम्बन्धमा कार्यालयबाट स्पष्ट जानकारी नदिइएको लगायत कैफियत फेला परेको थियो ।

कँडेलले आईएको ट्रान्सक्रिप्ट बनाउँदा पनि नक्कली बनाएको र ट्रान्सक्रिप्ट त्रिभूवन विश्वविद्यालयको रेकर्डमा भिडाउँदा विश्वविद्यालयको अभिलेखमा सो नम्बर नभएको पाइएको छ । जसका कारण कँडेलले प्रयोग गरेको आईएको सर्टिफिकेट पनि नक्कली भएको पाइएको छ । यसैगरी, कँडेलको स्नातक तहको सर्टिफिकेट पनि नक्कली रहेको पाइएको छ । अख्तियारको छानबिन टोलीले कँडेलले पेस गरेका विभिन्न तहका शैक्षिक प्रमाणपत्रसमेत नक्कली र झुठा रहेको फेला पारेको छ ।

आचार्यको प्रतिवेदनअनुसार कँडेलले युनाइटेड टेक्निकल कलेज भरतपुर–११ मा सन् २०१८ मा एक सेमेस्टर मात्र अध्यापन गराएको भेटिएको छ । कँडेलले सो समयमा पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरू फेला नपरेको तर उनले अध्यापन गर्नुपूर्व आफ्नै इमेलमार्फत सो कलेजको प्रशासन शाखामा पठाएको बायोडाटासहितको विवरण एवं इमेलको प्रिन्ट प्रति कलेज प्रशासनबाट प्रमाणित गरी लिएको जस्ता विषय आचार्यको प्रतिवेदनमा उल्लेख छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>