दुर्घटना
कार र ट्याक्सी ठोक्किँदा चितवनका आचार्यसहित दुई जनाको मृत्यु

ललितपुर, माघ १७–
ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
आइतबारराति साढे १२ बजे बिएन्डबी अस्पताल अगाडिको ओरालोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए ।
बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किएका हुन्। ट्याक्सीमा सवार एक जना र कारमा सवार एक जनाको मृत्यु भएको हो । ट्याक्सीमा ६ जना सवार थिए भने कारमा दुई जना सवार थिए ।
ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका–७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्यको मृत्यु भएको हो।
दुर्घटना भएपछि उनीहरूलाई बिएन्डबी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।
अन्य ६ जनालाई सामान्य चोट लागेको एसपी पोखरेलले बताए।
तिव्र गतिका कारण उक्त दुर्घटना भएको उनले बताए । प्रहरी वृत्त सातदोबाटोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























