देश/प्रदेश
शव चिन्न आफन्तलाई मुश्किल, ७० जनाको शव भेटियो, दुई अझै बेपत्ता

पोखरा, माघ ३–
आइतबार पोखरामा दुर्घटनाग्रस्त भएको यति एयरको ब्ल्याक बक्स सोमबार फेला परेको छ । दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्स महत्त्वपूर्ण मानिन्छ । दुर्घटनाबाट मृत्यु भएका यात्रुको शवको पोष्टमार्टम गर्न थालिएको छ । पोखरामा अस्पतालको पोस्टमार्टम भवनभित्र लस्करै शव राखिएका छन् । आफन्त पालैपालो भित्र प्रवेश गर्छन् । आफ्नो आफन्तको अनुहार खोज्छन् । डढेर सद्दे नभएका, चिन्नै नसकिने शव पनि घोरिएर हेर्छन् । सद्दे शवको हरमा भएको लुगा, गरगहना, ट्याटु हेरेर चिन्न खोज्छन् । शव नचिन्नेहरू दुःखी भएर निस्कन्छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम भवनमा सोमबार पोखरा–२५ हेम्जाका जितेन्द्र कुँवर र उनकी पत्नी भगवतीको शव पनि आफन्तले चिन्न सकेनन् । जितेन्द्रका दाजु श्यामबहादुर शवहरू राखिएका ठाउँमा पटकपटक पुगे, भाइ–बुहारीको शव चिनेनन् । ‘शवहरू मुढाजस्ता देखिन्छन् । अनुहार चिन्न सकिने अवस्थामै छैन । आगोको रापले गर्दा खुम्चिएका छन्,’ उनले भने, ‘पञ्जा र मास्क लगाएर सबै शव ओल्टाई–पल्टाई हेरिसकें तर अझै पहिचान भएको छैन ।’
ज्याकेटका आधारमा उनले भाइको शव भएको ठम्याएका थिए । तर त्यस्तै ज्याकेट लगाएको भन्दै मृतक हेम्जाकै राजन सापकोटाका आफन्त पनि आइपुगे । मृतक कुँवर र सापकोटाको ज्याकेटको रङ र ब्रान्ड पनि एकै थियो । एउटा शवको ज्याकेटमा फोन भेट्टियो । उक्त फोन जितेन्द्रको भएको पुष्टि परिवारले गरेपछि राजन र जितेन्द्रको शव छुट्टिएको थियो । तर, त्यति आधार पर्याप्त भएन । पहिचान नखुल्दा श्यामबहादुरको परिवारले भाइ–बुहारीको शव पाएको छैन । परिवारले चिने पनि पुष्टि गर्न काठमाडौं पठाउनुपर्ने भएको छ ।
विमानमा ७२ जना सवार थिए । त्यसमध्ये सोमबारसम्म ७० जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । बेपत्ता भइरहेकाहरुको नेपाली सेनाले आज पनि खोजी तथा उद्धार कार्य जारी राख्ने भएको छ ।

























