देश/प्रदेश
सेती खोँचमा बिलाए आमा–छोरा,माघी मनाउन जाँदै थिए पोखरा

महेन्द्रनगर,माघ २-
पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा महेन्द्रनगरका एक व्यवसायीका परिवारका सदस्य पनि परेका छन्। यहाँका प्रतिष्ठित व्यवसायी सञ्जीवचन्द्र भट्टकी श्रीमती र छोरा दुर्घटनामा परेका हुन् । व्यवसायी भट्टकी श्रीमती सुष्मा पाण्डेय भट्ट र कान्छो छोरा स्लक दुर्घटनामा परेका हुन् । उनीहरु आइतबार बिहान घुम्नका लागि यती एयरलाइन्सको जहाजमा पोखरा उडेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रामदत्त जोशी व्यवसायी भट्टका बहिनी–ज्वाइँ हुन् । उनको केही दिनअघि मात्रै नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।
व्यवसायी भट्ट बहिनी ज्वाइँको निम्तोमा घुम्नका लागि पुस २८ मा पोखरा पुगेका थिए । जोशीले घुम्नुका साथै माघी मनाउन उनीहरुलाई पनि पोखरा बोलाएको भट्टका भाइ पदम पाठकले बताए । ‘माघी मनाएर पोखराबाट सँगै काठमाडौं फर्किने योजना थियो’, पाठकले भने, ‘भाउजू र भतिजाहरु काठमाडौंमै बस्छन्, दाइ पनि त्यहाँबाट पोखरा जानुभएको थियो ।’
उनका अनुसार व्यवसायी भट्ट पुस ५ मा महेन्द्रनगरबाट काठमाडौं गएका थिए । उनका दुई छोरी र दुई छोरा छन् । कान्छा छोरा दुर्घटनामा परेका हुन् । उनी काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा ११ कक्षामा अध्ययनरत थिए । भट्टकी जेठी छोरी चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छिन् । अर्की छोरी आईटी इन्जिनियर हुन् । उनी काठमाडौंमै काम गर्छिन् ।
भट्ट महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी हुन् । उनको महेन्द्रनगर बजारमा पशुपति इम्पोरियम छ । भट्टले कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा दुई पटक प्रतिस्पर्धा गरेका थिए । व्यवसायीको परिवार जहाज दुर्घटनामा परेपछि महेन्द्रनगरका व्यवसायीहरु समेत चिन्तित बनेका छन् । उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले यो दुःखद घटनाले मर्माहत भएको र यस क्षेत्रका उद्योगी व्यवसायी ठूलो शोकमा परेको बताए ।