देश/प्रदेश

कनकाई र कचनकबलले बनाए राष्ट्रनिर्माता पृथ्वीनारायणको सालिक

Banner

झापा, पुस २७–

झापाको कनकाई नगरपालिका कार्यालय प्रवेश गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन’ भन्ने दिव्योपदेश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकले तपाईँको ध्यान आकर्षित गर्नेछ ।

कनकाई–१ स्थित पूर्वपश्चिम राजमार्गबाट सय मिटर दक्षिणतिर प्रवेशद्वारमा स्थापित पूर्णकदको पृथ्वीनारायणको सालिकले नागरिकलाई एकीकरणकर्ताको योगदानहरूको सुखद् स्मरण गराउने राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझा बताउँछन् ।

“कनकाई नगरपालिकामा धेरैपटक पुगेको छु, मलाई ढोकैमा नेपालको एकीकरणकर्ता पृथ्वीनारायणको सालिक देख्न पाउँदा गौरवबोध हुन्छ”, बिर्तामोडको हिमाली माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापकसमेत भइसकेका ओझा भन्छन्, “सङ्घीय सरकारले भर्खर राष्ट्रिय बिदा दिनुपर्ने जनस्तरको मागलाई स्वीकार गर्दैछ । तर कनकाई नगरले आफ्नै विवेकले राष्ट्रनिर्माताको पहिल्यै यथोचित सम्मान ग¥यो ।”

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले राष्ट्रनिर्माता पृथ्वीनारायणलाई राजमार्गमा हिँड्ने हरेक यात्रीले देखुन् र सम्मान अर्पण गर्न सकुन् भनेर नगरपालिका जाने प्रवेशद्वारमै सालिक स्थापना गरिएको बताए ।

“कम्युनिष्ट आस्था बोकेका मेयरले किन राजाको सालिक ठड्याएको होला भनेर कतिपयले मलाई ठट्टामा उडाउन खोजे”, सालिक स्थापना गर्दाको कथा सुनाउँदै नगरप्रमुख पोखरेल भन्छन्, “दलीय आस्था हरेक व्यक्तिको फरक हुनसक्छ, तर यो देशको एकीकरणको नेतृत्व गर्ने महान् व्यक्तित्व पृथ्वीनारायण शाह सबै नेपालीका लागि उत्तिकै सम्मानित हुनुहुन्छ ।”

पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जयन्ती पर्दछ भने सो दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिन्छ । गत वर्ष यही दिवस पारेर कनकाई नगरपालिकाले सालिकको अनावरण गरेको थियो । नगरपालिकाको बोर्ड बैठकमा नगरप्रमुख पोखरेलले सालिक निर्माणको प्रस्ताव विसं २०७७ मै लगेका थियो । उनी यसपटक दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन्।

“मैले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभएको हुँदा उहाँको सम्मानमा एउटा सालिक बनाउनुपर्छ भनेर नगर बोर्डमा प्रस्ताव लैजाँदा सबैले समर्थन गर्नुभयो”, उनले भने, “बोर्डका साथीहरूसँग बाहेक जनजाति सङ्गठन र नगरभित्रका राजनीतिक दलहरूसँग पनि सल्लाह गरेका थियौँ, सबै सकारात्मक हुनुभयो ।”

नगरपालिकाले पृथ्वीनारायण शाहको सालिक निर्माणका लागि रु सात लाख बजेट विनियोजन गरेको थियो । झापाका मूर्तिकार हिम्मत नेम्वाङले मोरङको मिक्लाजुङबाट ल्याइएको एउटै ढुङ्गामा पृथ्वीनारायण शाहको उक्त सालिक कुँदेका हुन्।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>