लुम्बिनी

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि बुटवलमा

Banner

रुपन्देही, पुस ७-

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि आज बुटवलमा आइपुग्नुभएको छ ।

रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आउनुभएको हो ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत् रुपन्देहीको रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा दिउँसो १ः१० बजे अवतरण गर्नुभयो । उहाँले आज बुटवल मण्डपमा आयोजित एक समारोहकाबीच औद्योगिक प्रदर्शनीको औपचारिक उद्घाटन गर्नुहुने उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रपतिको स्वागतका लागि प्रदर्शनीस्थल बुटवल मण्डपमा विशेष तयारी गरिएको छ भने जिल्लामा सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ । महोत्सव उद्घाटनपश्चात बुटवल नजिकैको शिद्धबाबा मन्दिरमा राष्ट्रपति भण्डारीले पूजाअर्चना गर्नुहुने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।

मण्डपमा प्रदर्शनीका लागि आवश्यक भौतिक निर्माणको काम पूरा भएको सङ्घले जनाएको छ । मण्डपमा स्टल, सचिवालय, मञ्च, मनोरञ्जनस्थल तथा पेभेलियनहरूको निर्माण सकिएको छ भने प्रदर्शनीस्थल बुटवल मण्डपलाई सजाएर चिटिक्क पारिएको प्रदर्शनी प्रबन्धक यादवप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका चार सय ५० स्टल छन् ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराससहित आयोजित प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, विभिन्न विषयमा अन्तरक्रिया गर्ने जनाइएको छ ।

यसपटकको प्रदर्शनीमा सात लाख दर्शकले अवलोकलन गर्ने र रु २५ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको अध्यक्ष पौडेलले बताउनुभयो । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन सांस्कृतिक कार्यक्रमको पनि व्यवस्था गरिएको छ । रासस
(((

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>