राजनीति
माओवादीले आज संसदीय दलको नेता छान्ने, प्रचण्ड सर्वसम्मत

काठमाडौं, पुस ७-
नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रत्यक्ष र समानुपातिक गरी ३२ सांसद रहेको माओवादीले दलको नेता छान्न लागेको हो ।
दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत हुने सांसद रेखा शर्माले बताइन् । सांसदहरूको शपथग्रहणपछि दिउँसो ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकले दलको नेता चयन गर्ने शर्माले जानकारी दिइन् ।
अहिलेसम्म प्रचण्डबाहेक कसैले दलको नेतामा दाबी गरेका छैनन् । दलको नेता नै पार्टी नेतृत्वको सरकार बन्दा प्रधानमन्त्री हुने व्यवस्था छ । सत्तागठबन्धनबाट सरकार बनाउने गृहकार्य भइसकेको बेलामा प्रचण्डले प्रधानमन्त्रीको दाबी गर्दै आइरहेका छन् ।
गठबन्धनबाट देउवा र प्रचण्डले प्रधानमन्त्रीको दाबी गरेका छन् । दुई नेताबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भए पनि दुवै नेताले पहिलो कार्यकाल दाबी गरेपछि कुरा मिल्न सकेको छैन ।
चुनावी सरकारको नेतृत्व देउवाले गरेको भएकाले अब बन्ने सरकारको नेतृत्व आफूले पाउनुपर्ने प्रचण्डको अडान छ ।



























