खैरहनी

आठौं खिचरा महोत्सवले अनुमति पायो, पुस २८ देखि माघ ४ गतेसम्म हुने

Banner

चितवन, पुस ५–

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आठौं खिचरा महोत्सव आयोजनाका लागि अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनबाट खिचरा महोत्सवले यसअघि घोषणा गरिएको मितिलाई केही परिवर्तन गरि नयाँ मितिमा अनुमति पाएको हो ।

जसअनुसार यही पुस २८ देखि माघ ४ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा खिचरा महोत्सव चल्ने छ । यसअघि आयोजकले पुस २९ देखि माघ ९ गतेसम्म महोत्सव आयोजनाको घोषणा गरेको थियो । विगतमा सातौं खिचरा महोत्सवसम्म यही मितिमा आयोजना हुँदै आइरहेको थियो । यसपटक एकै ठाउँमा दुई वटा महोत्सवको मिति घोषणापछि जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको बैठकले खिचरालाई केही समय हेरफेर गरि आयोजनाको अनुमति दिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्ला सुरक्षा समितिको बैठकबाट खिचरालाई माघ ४ गते दिउँसो १२ बजे समापन समारोह गर्नेगरि अनुमति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए । सोही अनुसार खिचरा महोत्सव आयोजक समितिले अनुमति पत्र समेत बुझिसकेको जानकारी दिए ।

महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको भन्दै यसवर्ष आकर्षणहरु थप गरिएको बताए । उनले सिमान्तकृत जातजातिको मौलिक भेषभुषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिए । ‘यस्तो पहिरनले समुदायको पहिचान झल्काउनुको साथै संरक्षणमा पनि टेवा पुग्छ, कला, सँस्कृति संरक्षण नै महोत्सवको उद्देश्य रहेकाले मौलिक भेषभुषालाई प्राथमिकता दिएका हौं’–चौधरीले भने ।

महोत्सवमा अन्य आकर्षणको रुपमा हरेक दिन थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषभुषा सहितको साँस्कृतिक प्रस्तुति, थारु विशेष खानाका फुड स्टल, थारु लगायत अन्य जातजातिका मौलिक खानाका परिकारका स्टलहरु, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, विभिन्न हस्तकला सामग्री तथा व्यवसायिक स्टलहरु, बाल उद्यान, खुल्ला हाजिरी जवाफ प्रतियोगिता, मिस्टर एण्ड मिस थारु २०२२ का प्रतिस्पर्धीहरुद्वारा नेपालभरिकै थारु पहिरनहरुको प्रदर्शनी, तराईका विभिन्न जिल्लाका थारु विशेष साँस्कृतिक प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, थारु ब्रम्हथान परिसरलगायत रहेका छन् । महोत्सवमा एक जना पत्रकारलाई नगदसहित सम्मान समेत गरिने छ ।

महोत्सवको उद्घाटनको दिन खैरहनी–८, मगनीचोकदेखि महोत्सवस्थलसम्म झाँकी र विभिन्न परम्परागत भेषभुषा सहितको शोभायात्रा निकालिने आयोजक संस्थाका सभापति चुडामणि चौधरीले जानकारी दिए ।

महोत्सवका संस्थापक संयोजक एवं प्रवक्ता नारायणप्रसाद महतोले खिचरा थारु समुदायको महत्वपूर्ण पर्व रहेकाले त्यसलाई विश्वभर चिनाउन महोत्सवको रुपमा आयोजना गर्दै आइरहेको बताए ।

महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ । यस्तै महोत्सवमा १३० वटा विभिन्न व्यापारिक स्टलहरु समेत रहने छन् । महतोको अग्रसरतामा २०७० सालमा दुई दिने खिचरा महोत्सवको सुरुवात भएको थियो । अहिले यो महोत्सवले ठूलो आकार लिँदै छुट्टै ब्राण्ड बनेको छ । थारु समुदायले माघ १ गते भव्य रुपमा खिचरा पर्व मनाउँदै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>