चितवन विशेष
कुनै बहानामा सार्वजनिक जग्गाको अतिक्रमण गर्न पाइँदैन : उपमेयर अधिकारी

चितवन, पुस १–
भरतपुर महानगरपालिकाले महानगर भित्र रहेका विभिन्न सार्वजनिक जग्गाहरुको संरक्षण गर्ने अभियानको शुरूवात गरेको छ । महानगरपालिकाको कार्यालयमा बिहीवार भएको सार्वजनिक जग्गाको संरक्षण विषयक कार्यक्रममा बोल्दै महानगरका उपमेयर चित्रसेन अधिकारीले सार्वजनिक जग्गा संरक्षण कार्य तीव्र पारिने बताए। महानगरले २९ वटै वडामा भएका सार्वजनिक जग्गाहरुको संरक्षण तथा सम्बर्द्धन गर्ने जनाएको हो । महानगरपालिका भित्र हाल करिब ६६ बिगाहा सार्वजनिक जग्गा रहेको अधिकारीले जानकारी दिए।
‘अब कुनै पनि बहानामा सार्बजनिक जग्गा हडप्न पाइदैन, यदि त्यस्तो गरेको पाइएमा कानुन अनुसारको कारबाही हुन्छ’ उनले भने । अतिक्रमण गरिएका जग्गाहरुको संरक्षण गरि त्यसमा हरियाली पार्क बनाउने, जेष्ठ नागरिक तथा बालबालिकाहरुको लागी खेल मैदान निर्माण गर्ने, बिपद्का घटनाहरुमा उपयोग गर्ने जस्ता अति महत्त्वपूर्ण कामका लागि प्रयोगमा ल्याइने उनले बताए ।
सार्वजनिक जग्गा संरक्षण तथा बाल खेल संसार अभियानका अभियान्ता कृष्ण प्रसाद पौडेलले सार्बजनिक जग्गा, यसको पहिचान, संरक्षण, सार्वजनिक जग्गा संरक्षण तथा बाल खेल संसारका सम्बन्धमा नेपालको कानुनले दिएको अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा तथा महाशाखाका कर्मचारीहरु र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड ‘क’ले सार्बजनिक ऐलानी र पर्ती जग्गा, सार्बजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाइ तोकेको छ । साथै उक्त ऐनको दफा ९७ (१) मा आफ्नो भौगोलिक क्षेत्र भित्रको सरकारी सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, सरक्षण गर्ने दायित्व समेत स्थानीय तहलाइ दिएको छ । मुलुकी देवानी सहिता ऐन २०७४ को दफा २९९, ३०० र ३०१ मा सरकारी सामुदायिक र सामुदायिक सम्पत्तिको प्रकार र प्रकृति उल्लेख गरेको छ । उक्त सहिताको दफा ३०४ ले त्यस्ता सरकारी सार्बजनिक तथा सामुदायिक सम्पत्तिको सरक्षण गर्ने दायित्व स्थानीय तहको समेत हुने कानुनी ब्यबस्था रहेको छ ।

























