अन्तर्राष्ट्रिय

विश्वकप सेमिफाइनलपछि छचल्किएको हकिमी र एम्बाप्पेको दोस्ती

Banner

दोहा, मंसिर २९-

गत मेमा फ्रान्सको लिग १ क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का खेलाडीहरू कतार भ्रमणमा आएका थिए। कतारी कम्पनीको स्वामित्वमा रहेको पिएसजीका खेलाडीहरूलाई फिफा विश्वकप २०२२ सुरू हुनु केही महिनाअघि कतार घुमाइएको थियो। उक्त भ्रमणमा आएका थिए फ्रान्सका स्टार फरवार्डसमेत रहेका पिएसजीका खेलाडी किलियन एम्बाप्पे, सोही टोलीमा थिए मोरक्कोका राइट ब्याक असरफ हकिमी।

हकिमी डेढ वर्षअघि इटालियन क्लब इन्टरमिलानबाट पिएसजी गएका हुन्। पाँच वर्षदेखि पिएसजीमै रहेका एम्बाप्पे र हकिमीको दोस्ती छिट्टै गहिरियो। कतार भ्रमणमा आउने बेला उनीहरू दुबै जनाले आ-आफ्नो देशबाट विश्वकप खेल्ने पक्का भइसकेको थियो। विश्वकपका लागि कतारमा बनेका रंगशालाको भ्रमण गर्दा एम्बाप्पे र हकिमीबीच मजाकसमेत चलेको थियो।

एम्बाप्पेले मजाक गर्दै विश्वकपमा फ्रान्स र मोरक्को भिड्ने र त्यो खेलमा आफूले साथी हकिमीलाई बर्बाद पारिदिने भविष्यवाणी गरेका थिए। नभन्दै नकआउट चरणमा एकचोटी मात्र प्रवेश गरेको मोरक्कोको भीडन्त सेमिफाइनलमा विश्व च्याम्पियन फ्रान्ससँग हुने भयो। र फ्रान्सले मोरक्कोलाई हरायो। तर एम्बाप्पेले भनेजस्तो हकिमीलाई बर्बादचाहिँ पारेनन्। बरू हकिमीले खेलको अधिकांश समय एम्बाम्पेलाई खुलेर खेल्न दिएनन्।

एम्बाप्पे लेफ्ट विङबाट खेल्छन्। हकिमी राइट ब्याक खेल्छन्। त्यसैले बुधबार रातीको सेमिफाइनलमा एम्बाप्पेलाई मार्किङ गर्ने जिम्मेवारी हकिमीलाई थियो। हकिमीले एम्बाप्पेलाई राम्ररी मार्किङ गरे र फ्रान्सका प्रशिक्षक डिडिए देसाँले ६५ औं मिनेटमा स्ट्राइकर ओलिभर जिरूलाई सब्स्टिच्युट गरेर एम्बाप्पेलाई सेन्टर फरवार्डमा खेलाएका थिए। त्यसपछि मात्र एम्बाप्पेले ओस्मान डेम्बेलेको ठाउँमा आएका रान्डल कुलु मानीलाई गोल हान्न पास दिएका थिए।

खेलको पाँचौं मिनेटमा थियो हर्नान्डेजको गोलले अग्रता लिएको फ्रान्सलाई मोरक्कोले निरन्तर दबाबमा राखेको थियो। कुलु मानीले ७९ औं मिनेटमा गोल गरेपछि मात्र फ्रान्सलाई केही राहत भयो। मोरक्कोलाई २-० ले हराउँदै फ्रान्सले लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान बनायो।

डेढ घन्टाभन्दा बढी समय आमनेसामने भएका एम्बाप्पे र हकिमीको दोस्ती खेल सकिएसँगै फेरि देखियो। आफूले त्यति मेहनत गरेर खेल्दा समेत मोरक्को हारेपछि निराश भएर हकिमी मैदानमा थचक्क बसिरहेका थिए। त्यतिबेला एम्बाप्पे हकिमीको नजिक आउँछन्। हकिमीका दुबै हात समाएर उठाउँछन्। त्यसपछि उनीहरूले एक-अर्काले अँगालो हाले। अनि आपसमा जर्सी साटासाट गरे।

मैदानबाट बाहिर निस्किएपछि एम्बाप्पेले सामाजिक सञ्जालबाट हकिमीलाई सान्त्वना दिए।

हकिमीसँग अँगालो हालेको तस्बिर राख्दै एम्बाप्पेले लेखेका छन्- दुस्खी नहोऊ साथी, तिमीले गरेको कुरामा सबै जनालाई गर्व छ, तिमीले इतिहास रच्यौ।

शनिबार साँझको खेलमा पोर्चुगललाई हराएर सेमिफाइनलमा पुगेका हकिमीले केही घन्टापछि इंग्ल्यान्डलाई हराएर फ्रान्स पनि सेमिफाइनलमा पुग्नेबित्तिकै ट्विट गरेका थिए। उनले एम्बाप्पेलाई मेन्सन गर्दै लेखेका थिए- चाँडै भेट हुनेछ दोस्त !

उनीहरूबीचको मित्रता यति गहिरो छ कि विश्वकपका बेला फरक-फरक होटलमा बसे पनि उनीहरू भेटिरहन्थे। पिएसजीमा भइरहेको गुटबन्दी र उनीहरूको एउटै उमेरले हकिमी र एम्बाप्पेलाई घनिष्ठ बनाउन भूमिका खेलेका छन्।

पिएसजीमा गुटबन्दी छ। एम्बाप्पेको गुट छ, अर्को नेइमारको गुटमा छ। मेसी आएपछि बार्सिलोनामा छँदाका आफ्ना साथी नेइमारकै गुटमा मेसी गएको मानिन्छ। क्लबमा स्पेनिस भाषा बोल्नेहरूबीच घनिष्ठ सम्बन्ध हुनु स्वभाविक हो।

यिनीहरूको गुट हुनुको अर्को कारण उनीहरूको उमेर हो। हकिमी र एम्बाप्पे उस्ताउस्तै उमेरका हुन्। एम्बाप्पेभन्दा हकिमी डेढ महिना मात्र जेठा हुन्। त्यही भएर पनि उनीहरूबीच धेरै कुरा मिल्छ। गत सिजनको अन्त्यमा एम्बाप्पे रियल म्याड्रिड जाने लगभग निश्चित जस्तो मानिन्थ्यो। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों स्वयंले उनलाई म्याड्रिड नजान अनुरोध गरे।

त्यसपछि कतारी मालिकहरूले पैसा बढाएर र ‘टिममा कसलाई राख्नेरनराख्नेसहितका विशेष अधिकार दिएर’ एम्बाप्पेलाई पिएसजीमै रहन फकाएको मानिन्छ।

यसमा पनि पहिला म्याड्रिडबाट खेलिसकेका हकिमीले पनि एम्बाप्पेलाई सम्झाएको चर्चा छ।

एम्बाप्पे अधिकारसहित पिएसजीमै बस्ने भएपछि स्पेनिस बोल्ने दक्षिण अमेरिकी गुटका अर्जेन्टिनी खेलाडी एंगल डिमारिया र लियान्ड्रो प्याराडेसलाई पिएसजीले बेचेको थियो।

झन्डै एक महिनाअघि विश्वकपको उद्घाटन हुँदा २०१८ को उपविजेता क्रोएसिया र तेस्रो भएको बेल्जियमको समूहमा रहेको मरोक्को दोस्रो चरणमा पुग्ला भनेर कमैले सोचेका थिए। केही गरी दोस्रोमा पुगे पनि अर्को समूहमा रहेको जर्मनी वा स्पेनसँग खेल्नु पर्ने हुन सक्थ्यो। तर सबैको आकलनलाई गलत सावित गर्दै मोरक्कोले सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी मुलुक बनेर इतिहास रच्यो। सोही सेमिफाइनलपछि देखिएको हकिमी र एम्बाप्पेको दोस्तीले अहिले फुटबल प्रशंसकबीच चर्चा पाइरहेको छ।९विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>