चितवन विशेष

मानवअधिकार उल्लंघनका घटना बढेको भन्दै चिन्ता व्यक्त

Banner

पुजा ढकाल,

चितवन,मंसिर २४-

आज ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भन्ने रहेको छ । नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । मानव अधिकार सबै नागरिकको चासोको विषय हो । मानव अधिकारका क्षेत्रमा विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरुले काम गर्दै आइरहेका छन् । राज्यले पनि मानवअधिकारका विषयमा सचेत रहेको भन्दै उल्लंघनका घटना हुन नदिने प्रतिवद्धता जनाउँदै आएको छ । तर समाजमा मानव अधिकार हनन्का घटना दिनदिनै भइरहेका छन् ।

शुक्रबार भरतपुरको सप्तगण्डकी क्यम्पसमा भएको कार्यक्रममा सरोकारवालाहरुले मानव अधिकार उल्लघंनका घटना झन् बढेको भन्दै चिन्ता व्यक्त गरे । मानव अधिकार संजाल चितवन, रोटरी क्लब अफ भरतपुर र सप्तगण्डकी आम सञ्चार क्लबको आयोजनामा सु–शासन र सदाचार–गन्तब्य मानवअधिकार विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा मानव अधिकार सञ्जाल चितवनका संयोजक राजेन्द्र पौडेलले मानव अधिकार उल्लंघनका घटनामा कमि नआएको बताउनुभयो । उहाँले मानव अधिकार कार्यान्वयन गराउन राज्यका निकायलाई निरन्तर दवाव दिइरहेको जानकारी दिनुभयो । कार्यान्वयनको पक्ष फितलो रहेको भन्दै सबै सरोकारवाला निकायहरु एकजुट हुनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा विषय प्रवेश गराउँदै मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट) का केन्द्रीय उपाध्यक्ष विनोदखण्ड तिमिल्सिनाले मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको इतिहासिक पृष्ठभूमिबारे जानकारी दिनुभयो । अहिले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको ७५ वर्ष पुगेको भन्दै उहाँले सुशासन र सदाचारले मात्र मानवअधिकार स्थापित हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ नेपालमा नागरिकले अझैसम्म पनि आधारभूत मानवअधिकारको उपभोग गर्न पाएका छैनन् तसर्थ मानवअधिकारीकर्मीहरुले झक्झक्याउन जरुरी छ ।

मानव अधिकार आयोगका केन्द्रिय सदस्य बालकृष्ण पौडेलले सामाजिक रुपमा चेतनाको स्तर बृद्धि भएमात्र मानव अधिकार उल्लंघनका घटनामा कमि आउने बताउनुभयो । उहाँले पछिल्लो समय राज्यका निकायबाटै यस्ता घटना बढि हुने गरेको बताउनुभयो । ‘जबसम्म अपराधिले सजाय पाउँदैन तबसम्म मानव जगत मानवअधिकार पाउनबाट बन्चित हुन्छ,उहाँले भन्नुभयो,देशमा कानुनी राज स्थापित हुनुपर्छ ।’

मानव अधिकार संरक्षण मञ्चकी अध्यक्ष कल्पना उप्रेतीले समाजमा दिनप्रतिदिन महिला हिंसाका घटना बढिरहेको बताउनुभयो । उहाँले महिला अधिकारका लागि देशमा कानुन भएपनि कार्यान्वयन फितलो रहेको टिप्पणी गर्नुभयो । केहीदिन अघिमात्रै इन्गेजमेन्ट टुटेर ज्यान गुमाएकी युवतीको घटना स्मरण गर्दै उहाँले जिउँदै जल्दापनि न्याय नपाउने अवस्था सृजना भएको बताउनुभयो । उहाँले महिला अधिकार र मानवअधिकार एकै बिषय भएको बताउनुभयो ।

 

 

सप्तगण्डकी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले मानव अधिकार कार्यान्वयनका लागि घरबाटै सुरुवात गर्नुपर्ने बताउनुभयो । सहायक क्याम्पस प्रमुख टिकाराम देवकोटाले मानव अधिकार र कार्यान्वयनका सवालमा सबै सचेत बन्नुपर्ने धारणा राख्नुभयो । आमसञ्चार विषयका सहायक प्रध्यापक मधुसुदन दवाडीका अनुसार मानव अधिकार राज्यबाट मात्रै हैन घर घरबाटै कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले मानव अधिकार कार्यान्वयनका लागि आचरण सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो । उपप्रध्यापक लक्ष्मी पोखरेलले राज्यले अधिकार दिएन भन्दा पनि आफैले न्याएको लागि आवाज उठाउन सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका कन्द्रिय सदस्य विश्वनाथ ओझा, रोटरी क्लव अफ भरतपुरको सभापति भोला जोशी, सप्तगण्डकी क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष टेक बहादुर थापा लगायतले बोल्नुभएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>