अर्थ

मौद्रिक नीति विरुद्ध अटोमोबाइल्स व्यवसायीको विरोध

Banner

भरतपुर, मंसिर २३–
राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको देशभरका अटोमोबाइल्स व्यवसायीले विरोध गरिरहेका छन् । व्यवसायीले आफ्नो व्यवसाय स्थलमा कालो व्यानर टाँग्नेदेखि शान्तिपूर्ण धर्नाका कार्यक्रमलाई अगाडि बढाएका छन् । चितवनका अटोमोबाइल्स व्यवसायीले पनि बिहीबार मौद्रिक नीतिविरुद्ध शान्तिपूर्ण रुपमा धर्ना बसेर विरोध गरेका छन् ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले देश चालु खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् । नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिका कारण समस्यामा परेका अटोमोबाइल्स व्यवसायीहरुले गरेको विरोध तथा शान्तिपूर्ण धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘राजस्व संकलन चालु खर्चभन्दा १९ प्रतिशतले कम भएको देखिन्छ । यसको मौद्रिक मूल्याङ्कन गर्ने हो भने राजस्व संकलन र चालु खर्च बीच १७ अर्ब रुपैयाँको फरक देखाउँछ । यहि अवस्था रहे चालु खर्च समेत धान्न नसक्ने अवस्थामा देशको अर्थतन्त्र पुग्छ ।’ श्रेष्ठले मौद्रिक नीतिले हरेक व्यवसायी धरासायी भइरहेको बताए ।

चितवन अटोमोबाइल्स एशोसीएसनका पूर्वअध्यक्ष कृष्णप्रसाद काफ्ले सरकार र गभर्नरबीचको द्वन्द्वले व्यवसायी मारमा परेको बताउँछन् । काफ्लेले बैंकहरुले ब्याज बढाउनुपर्ने आवश्यकता नै नरहेको बताए । ‘कोरोनाको अवस्थामा व्यवसायीहरु ५० देखि ६० प्रतिशत घाटामा जाँदा पनि बैंकहरुले १०० देखि १५० प्रतिशतसम्म नाफा कमाएका थिए । अहिले पनि नाफामा नै छन् । यस्तोमा किन बढाउनु प¥यो ब्याजदर’, उनले भने । नयाँ मौद्रिक नीतिका कारण जिल्लामा ४८ वटा शोरुमहरु बन्द भएको उनले बताए ।

नाडा अटोमोबाइल्स एशोसिएसनका कार्यसमिति सदस्य गोपाल भट्टराईले नीजिक्षेत्रलाई बारम्बार प्रहार गरे देश श्रीलङ्का बन्न बेर नलाग्ने बताए । सरकारले अझै ध्यान नदिए व्यवसायी घर र व्यवसाय लिलामी गरेर विदेशिनु बाहेक अर्को उपाए नहुने उनको भनाइ छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन कार्यसमिति सदस्य अमृत जोशीले बैंकको व्याज ७ प्रतिशतबाट बढेर १४ प्रतिशत पुग्दा अत्यन्तै मर्का परेको गुनासो गरे । जोशीले भने, ‘कोभिड र आर्थिक मन्दीले थला परेको थियौँ । नयाँ मौद्रिक नितिले हामीलाई झनै गरि खान नसक्ने अवस्थामा पु¥याएको छ ।’

चितवन अटोमोबाइल्स एशोसिएसन र नाडा अटोमोबाइल्स एशोसिएसनले भरतपुरको लायन्सचोकमा संयुक्त रुपमा मौद्रिक नीतिको विरोध गरेका थिए । जिल्लामा अहिले करिब ३६० अटोमोबाइल्स व्यवसायी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>