खेलकुद

विश्वकप फुटबलः अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा प्रवेश

Banner

काठमाडौँ, मङ्सिर १५–

कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘सी’ बाट अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट पोल्याण्ड पनि समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

आज विहान भएको समूह ‘सी’को अन्तिम तथा निर्णायक खेलमा पोल्याण्डलाई २–० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफको पहिलो मिनेटमै अर्जेन्टिनाले अग्रता लियो । खेलको ४६औँ मिनेटमा अर्जेन्टिनाका एलेक्सिस एलिस्टर गोल गरे । ७४ प्रतिशत बल पोजिशन राखेको अर्जेन्टिनाले ६७औं मिनेटमा अर्को गोल गर्‍यो । जुलियन अल्भारेजले आकर्षक गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

अर्जेन्टिनाले पहिलो हाफमै अग्रता बनाउने सुनौलो मौका पाएको थियो । पोल्याण्डका गोलकिपरले मेस्सीलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर मेस्सीले प्रहार गरेको पेनाल्टी पोल्याण्डका गोलकिपरले विफल पारेपछि अर्जेन्टिना पहिलो हाफमा बराबरीमै रोकिन बाध्य भयो ।

पोल्याण्ड नकआउट चरणमा

त्यसैगरी समूह ‘सी’ बाट नै पोल्याण्ड पनि नकआउट चरणमा प्रवेश गरेको छ । अर्जेन्टिनासंग पराजित भएपनि पोल्याण्ड मेक्सिकोलाई गोल अन्तरले पछाडी पार्दै समूह उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । अर्को खेलमा मेक्सिकोले साउदी अरेबियालाई २–१ ले पराजित गरेपनि नकआउट चरणमा पुग्न सकेन ।
लुसेल स्टेडियममा आज विहान सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा मेक्सिको पहिलो चरणबाटै बाहिरन पुग्यो । निर्धारित ९० मिनेटसम्म २–० को अग्रता बनाएको मेक्सिको थपिएको ५ मिनेटमा गोल खादै अग्रता २–१ मा झरेको थियो । यसको फाइदा पोल्याण्डले लियो । पोल्याण्ड र मेक्सिकोको समान ४ अंक भएपनि गोल अन्तरमा पछाडी पार्दै पोल्याण्ड नकआउट चरणमा पुगेको हो ।

मेक्सिकोका लागि खेलको ४७औं मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा लुइस चाभेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा साउदीका सलेम अल्दवसारीले गोल गर्दै मेक्सिकोको नकआउट चरणको ढोका बन्द गरिदिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>