राजनीति
प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेस नेताहरूको आपत्ति

काठमाडौं,कात्तिक १३ –
सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति नेपाली कांग्रेसका नेताहरूले आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारलाई गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजीनीति गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य भएको उल्लेख गरेका छन् ।
उनले कुनै समाचार सामग्रीप्रति आपत्ति वा असहमति भए त्यसको परीक्षण र निरूपण गर्ने कानुनी बाटो हुँदाहुँदै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारलाई हतोत्साहित पार्ने प्रयास विधिको शासनविपरीत भएको बताएका छन् ।
‘प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउँछ,’ उनले लेखेका छन् ।
पक्राउ गरिएका पत्रकारलाई अविलम्ब ससम्मान रिहा गर्न, सञ्चारगृहमाथिको अनावश्यक हस्तक्षेप र निगरानी बन्द गर्न तथा कानुनी प्रक्रियामार्फत सत्यतथ्य छानबिन गर्न पनि उनले सरकारसँग माग गरेका छन् ।
त्यस्तै, कांग्रेस नेता नैनसिंह महरले नेपाल प्रेसको कार्यालयमा प्रवेश गरी पत्रकार विश्वमणि सुवेदी र नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रवेश गरी पत्रकार नवराज मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनले अन्य धेरै पत्रकारको समेत खोजी भइरहेको जानकारी प्राप्त भएको उल्लेख गरेका छन् । प्रेसको मुख बन्द गरेर तर्साउने प्रयास लोकतन्त्रको बर्खिलाप भएको उनको भनाइ छ ।
महरले राज्यद्वारा सञ्चालित दमन र हुर्मत लिने कार्यले प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गर्ने भन्दै यस्ता नियोजित गतिविधिको निन्दा गरेका छन् ।
लोकतन्त्रमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान हुनुपर्ने उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रमाथिको हस्तक्षेपले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने बताएका छन् ।
























