खेलकुद
नेपालमा कतार विश्वकप मोबाइलबाट प्रत्यक्ष प्रशारण हेर्न नपाइने

काठमाडौं, मंसिर ४-
विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप कतारमा आज (आइतबार)देखि सुरु हुँदैछ ।
विश्वभरबाट छानिएका ३२ देशका टोलीहरुले विश्वभर फुटबलमय बनाउनेछन् । कतारमा प्रत्यक्ष फुटबल हेर्न नपाउने दर्शकहरुले टेलिभिजन प्रत्यक्ष प्रशारणमार्फक फुटबलको आनन्द उठाउनेछन् । विश्वका आधाभन्दा बढी अर्थात ५ अर्ब मानिसले कतार विश्वकपको प्रत्यक्ष प्रशारण हेर्ने अनुमान गरिएको छ ।
नेपालमा हिमालय प्रिमियर एचडी टेलिभिजनले विश्वकपको प्रत्यक्ष प्रशारण अधिकार पाएको छ । यो च्यानल आइतबारदेखि नै औपचारिक प्रशारण सुरु भएको छ । आफ्नो घरको टेलिभिजन सेटमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण गर्ने हिमालय प्रिमियर च्यानल खुल्न ५ सय रुपैयाँ (करबाहेक) तिर्नुपर्ने हुन्छ ।
नेपालमा मोबाइल वा अन्य डिजिटल माध्यमबाट फुटबलको प्रत्यक्ष प्रशारण हेर्न नपाइने भएको छ । नेपालमा प्रशारण अधिकार पाएको मिडिया हबले टेलिभिजनबाट मात्र हेर्न पाइने बताएको छ ।
कतार विश्वकपको उद्घाटन खेलमा आज राती पौने १० आयोजक कतार र दक्षिण अमेरिकी टोली इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ । कतारको अल बायट रंगशालामा यो खेल हुनेछ ।
























