चितवन विशेष

अलपत्र माडीको मगुई खोला सिँचाइ योजना,पाँच बर्षमा ४२ प्रतिशतमात्र काम

Banner

भरतपुर,कात्तिक २५-

चितवनको माडीस्थित मगुई खोला सिँचाइ योजनाको काम अघि बढ्न सकेको छैन । विसं २०७४ मा सुरु भएको योजना निर्माण कम्पनीले समयमा काम नगर्दा काम अलपत्र परेको हो ।

योजनाको ४२ प्रतिशतमात्र काम सम्पन्न भएको छ । अहिले निर्माण जिम्मा पाएको शिवशक्ति सपना जेभीले बीचैमा काम छाडेको छ । निर्माण कम्पनीसँग रु छ करोड ६६ लाख १९ हजार दुई सय ३० मा योजनाको काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । मगुई खोला सिँचाइ योजना उपभोक्ता समितका अध्यक्ष प्रभानन्द तिवारीले निर्माण कम्पनीको लापरवाहीले काम अघि बढ्न नसकेको बताउनुभयो ।

“निर्माणको जिम्मा पाएको कम्पनीले तीन पटकसम्म विभिन्न कम्पनीलाई पेटीमा ठेक्का दिँदै काम लगाउँदै ग¥यो”, उहाँले भन्नुभयो, “अहिले कसैले पनि काम गरेका छैनन् ।” उहाँले निर्माणको काम गर्दागर्दै बाढीले क्षति पु¥याएपछि योजनाको काम झन् अस्तव्यस्त भएको बताउनुभयो ।

यस वर्षको बाढीले पनि निर्माण भएको संरचनामा क्षति पु¥याएको उहाँले बताउनुभयो । “योजना सुरु नहुँदा बरु कच्ची कुलोबाट स्थानीयले सिँचाइ गरेका थिए, पक्की निर्माण सुरु भएपछि कुलोमा पानी आउन ठप्प भयो”, उहाँले भन्नुभयो । यस वर्ष आकाशको पानीको भरमा र खोलाबाट जेनेरेटर लगाएर सिँचाइ गरिएको तिवारीले बताउनुभयो ।

माडी नगरपालिका वडा नं ४ र ५ को सिमाना छरछरेमा सिँचाइ योजनाको ड्याम निर्माण गरिएको छ । छरछरेबाट पश्चिमपट्टि लौगाइसम्म तीन हजार दुई सय मिटर र पूर्वपट्टि दुई हजार मिटर नहर निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । योजना निर्माण भए माडी नगरपालिका वडा नं २, ४, ५ र ६ का बासिन्दा लाभान्वित हुन्छन् । निर्माण कम्पनीसँग योजना निर्माणका लागि विसं २०७४ असोज २३ गते सम्झौता गरिएको थियो ।

विसं २०७७ असोज २२ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने योजनाको दुई पटकसम्म म्याद थप गरिसकिएको छ । पछिल्लो समय यो वर्षको चैत मसान्तभित्र काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय भरतपुरका इञ्जीनियर रामचन्द्र विष्टले जानकारी दिनुभयो ।

उहाँले कार्यालयले निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि कामले गति लिन नसकेको बताउनुभयो । पछिल्लोपटक बागमती प्रदेशको सिँचाइ मन्त्रालयबाट म्याद थपिएको भन्दै अब म्याद थप्ने नथप्नेबारे मन्त्रालयबाटै निर्णय हुने विष्टले जानकारी दिनुभयो । निर्माण कम्पनीले काम नगरेपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्माण व्यवसायी, उपभोक्ता र कार्यालयका प्रतिनिधिसहित बैठक बसेरसमेत निर्देशन दिइएको उहाँले बताउनुभयो ।

निर्माण कम्पनी शिवशक्ति सपना जेभीका प्रतिनिधि सुरेन्द्र पाठकले आफूहरूले निर्माणका लागि जिम्मा दिएकाहरूबाट काम नभएको स्वीकार गर्दै निर्वाचनपछि दु्रतगतिमा काम गर्ने बताउनुभयो । उहाँले कोरोनालगायतका कारण पनि सिँचाइ योजनाको काममा सुस्तता आएको बताउनुभयो । माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले पटक–पटक निर्माण कम्पनीलाई ताकेता गर्दा पनि काम नगरेको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>