चितवन विशेष

भरतपुरको चनौलीमा पाँच दलीय गठबन्धनको प्रदेश कार्यालय स्थापना

Banner

चितवन, कात्तिक १२-

भरतपुरको चनौलीमा चनौलीमा पाँच दलीय गठबन्धनको प्रदेश कार्यालय उद्घाटन गरिएको छ ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारलाई लक्षित गरेर सत्तारुढ पाँच दलीय गठबन्धनले क्षेत्रीय कार्यालय स्थापना गरेका हुन् ।
निर्वाचन क्षेत्र ३ अन्तर्गत प्रतिनिधि सभामा माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले आफ्नो विकास अवधारणालाई अनुमोदन गर्न गठबन्धनको जित अपरिहार्य रहेको बताउनु भएको छ । उहाँले एक वडा एक कार्यक्रम अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) अन्तर्गत चनौलीमा गठबन्धनको प्रदेश कार्यालय उद्घाटन कार्यक्रममा डा अधिकारीले गोलाघाटदेखि भरतपुर नारायणगढ क्षेत्रलाई जोड्ने गरी काम गर्न चाहेको बताउनुभयो ।

निर्वाचन क्षेत्र ३ (क) प्रदेशसभामा कांग्रेसका उमेदवार डा. सूर्यकान्त घिमिरेले कृषि क्षेत्र आफ्नो प्राथमिकतामा रहने बताउनु भएको छ । कार्यक्रममा उहाँले कृषिमा मल, बिउँ र सिचाइँमा अनुदान वितरणको नीतिलाई प्रभावकारी बनाउने बताउनुभयो । कांग्रेस नेता घिमिरेले कृषि मात्र नभई शिक्षा र स्वास्थ क्षेत्र पनि प्राथमिकतामा रहने बताउनुभयो । शिक्षा र स्वास्थ्यलाई समतामूलक पहुँचका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विकास निरन्तर अघि बढ्ने बताउँदै उहाँले गोलाघाट पुल निर्माण र नारायणी पुल निर्माण द्रुतगतिमा गर्न लागिपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता सूर्य सुवेदी पथिकले गठबन्धनले विज्ञ उमेदवार प्रस्तुत गरेको बताउनु भएको छ । अहिले जनताको मागलाई सम्बोधन गर्नेगरी साझा गठबन्धन मार्फत् निर्वाचनमा आएको उहाँको दाबी थियो । दिगो विकास र समृद्धिका लागि गठबन्धनको जित सुनिश्चित हुनुपर्ने उहाँले बताउनुभयो । देशमा प्रतिगमन र अग्रगमन गरी दुई गठबन्धन रहेको बताउँदै नेता पथिकले अग्रगमनको पक्षमा मतदान गर्न अपिल गर्नुभयो ।

सोही कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले कांग्रेसको उमेदवार नभएको भ्रममा नरहन अनुरोध गर्दै डा. भोजराज पाँच दलकै उमेदवार भएको बताउनु भएको छ । गठबन्धनका विकल्प नभएको उहाँले बताउनुभयो । जनप्रतिनिधिमूलक संस्था भत्काउने समूहलाई पराजित गर्न पनि गठबन्धनको जित आवश्यक रहेको सभापति खनालको भनाइ थियोे । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी भरतपुरका अध्यक्ष विष्णुराज महतोले जनताको पक्षमा गठबन्धन आएको बताउनुभयो । संघमा (डा. भोजराज अधिकारी) चिकित्सा र प्रदेश (क) मा कृषि (डा. सूर्यकान्त घिमिरे) विज्ञ उमेदवार छन् । त्यस्तै क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसको बागी उम्मेदवारको रुपमा दिनेश कोइराला माछा चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने अर्काेतिर गत स्थानीय निर्वाचनमा मेयरमा उम्मेदवार रहनुभएको जगन्नाथ पौडेल पनि स्वतन्त्ररुपमा प्रतिस्पर्धामा नै हुनुहुन्छ । प्रतिकुल अवस्था देखेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र छाडेर गोरखा गएपछि प्रचण्डको ठाउँमा उठ्नुभएको डा अधिकारी दबाबमा पर्नुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>