अर्थ

राजस्व छलि गर्दै नारायणी नदीमा चल्ने मोटरबोट,यात्रुबाट मनपरी शुल्क असुल्दै

Banner

चितवन, कात्तिक ७–

नारायणी नदीमा यात्रुलाई जलयात्रा गराउन २० भन्दा बढी मोटरबोट सञ्चालनमा छन् । मोटरबोटले यात्रुसँग छोटो दुरीको प्रति यात्रु २५० रुपैयाँ र लामो दुरीको प्रति यात्रु ५०० रुपैयाँ शुल्क लिन्छन् । त्यसमध्ये छोटो दुरीको टिकट काटेमा प्रति टिकट ५० रुपैयाँ र लामो दुरीको टिकट काटेमा प्रति टिकट १०० रुपैयाँ महानगरपालिलाई राजस्व तिर्नुपर्छ ।

केहि समय यता मोटरबोट सञ्चालकहरुले भने राजस्व छलि गर्दै आएका छन् । मोटरबोटले यात्रुलाई टिकट नै नदिने वा लामो दुरीको यात्रुलाई छोटो दुरीको टिकट थमाउने गरेका छन् । यसले महानगरलाई सिधा असर परेको छ । यात्रुसँग मनपरी शुल्क लिने मोटरबोटले महानगरलाई दिनुपर्ने राजस्व भने छलि गर्दै आएका छन् ।

मोटरबोट सञ्चालन र ठेला व्यवसायलाई व्यवस्थित बनाउन महानगरले नारायणी नदी किनारमा कार्यालय नै राखेर छ जना कर्मचारी खटाएको छ । सरसफाई गर्ने दुई जना, सुरक्षा गार्ड जना र कार्यालयमा काम गर्ने दुई जना कर्मचारी छन् । तर मोटरबोटले गरेका राजस्व छलिप्रति उनीहरुले कुनै कारबाही गर्न सकेका छैनन् ।

महानगरको राजस्व अधिकृत जिवलाल कुँवरले मोटरबोटले राजस्व छलि गरेको विषयमा गुनासो आएको तर अनुगमनका क्रममा त्यस्तो केहि नभेटिएको बताए । ‘त्यो विषयहरु आइरहेका छन्, हामीले हाम्रो कर्मचारीलाई सोध्दा चाँहि त्यस्तो भएको छैन भन्ने गर्नुभाछ’, उनी भन्छन्, ‘हामीले भेट्यौँ भने ५० हजारसम्म जरिवाना लगाउछौँ । अनुगमन गर्दा ठ्याक्कै भेटिएको छैन ।’

मोटरबोटमा ३० जना यात्रु चढाएर २० जनाको मात्र टिकट काटेको प्रमाण भने यसअघि भेटिएको उनले बताए । ‘हामीसँग गरेको सम्झौता अनुसार उनीहरुले कर छलि गरेर व्यवसाय गर्न मिल्दैन । हामीले त्यसो नगर्नुस् भनेका छौँ’, उनले भने । एउटा डुंगाले वर्षको १५ हजार रुपैयाँ राजस्व बुझाउने गरेका छन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>