कृषि

धान खेती र माछापालन एकै ठाउँमा, मनग्य आम्दानी

Banner

पुजा ढकाल,

चितवन, असोज ८–

सुन्दा अचम्म लाग्ला ! तर पछिल्लो समय चितवनका किसानले धानसँगै खेतमा माछापालन गर्न पनि सुरु गरेका छन् । भरतपुर महानगरपालिका–२५ फुलबारीका एक युवाले धान लगाएको खेतमा माछापालन गरेका छन् । २३ वर्षीय युवा रोमिन जङ्ग थापाले ८औँ पटक धान खेतमा माछापालन गरेका हुन् । हाल उनी सप्तगण्डकी क्याम्पस भरतपुरमा आम सञ्चार तथा पत्रकारीता विषयमा दोस्रो वर्षमा अध्ययनरत छन् । उनी निर्माण व्यवसायी पनि हुन् ।

‘गाँउमा अरुले पनि माछापालन गरेका छन् । तर गाँउमा धान खेतमा माछापालनको सुरु भने मैले गरेको हो’, थापाले भने । उनले गएको साउनमा धान खेतमा ८०० वटा माछाको भुरा हाले । कात्तिकसम्म माछा खानका लागि तयार हुने उनी बताउँछन् । धान खेती गरिएको ठाउँमा माछापालन पनि गर्दा माछाको उत्पादन राम्रो हुने र धान उत्पादन पनि बढ्ने उनको भनाइ छ ।

धानमा उनले कुलोको पानी लगाउने गरेका छन् । खेतमा धान रोपेको एक हप्तापछि उनले २० देखि २५ ग्रामका भुरा माछा हालेका हुन् । उनले प्रति गोटा २ रुपैयाँमा ८०० भुरा माछा किनेका हुन् । भुरा माछा हालेको तीन महिनामा एउटा माछा डेढ पाउको हुने र प्रतिकेजी ३५० रुपैयाँमा विक्री हुने उनले बताए ।

साढे तीन कठ्ठा जग्गामा धान लगाउँदा पानी जमेर सोचेको जस्तो धान नफलेको र धानको विरुवामा रोग किरा लागेर सताएको उनले स्मरण गरे । धानमा हरेक वर्षजसो समस्याले सताउन थालेपछि धान खेतमै एक पटक माछा पालन गरेर विचार गर्ने सोच पलाएको उनले बताए । सुरुमा ३०० वटा माछाको भुरा हाल्दा राम्रो उत्पादन भएपछि हरेक वर्ष धान लगाएको ठाउँमा माछा पालन गर्ने गरेको उनले बताए ।

धान खेतमा माछा पालन गरेपछि धानको उत्पादन पनि बढेको उनी बताउँछन् । ‘धान खेतीमा माछा पालन गर्दा धानमा आएको लेउ झार तथा किरा माछाले आहारको रुपमा खान्छ र धानमा लाग्ने विभिन्न रोगहरु पनि देखा पर्दैन’, उनले भने । एउटै ठाउँमा धान र माछाबाट आम्दानी भएपछि आफुलाई धेरै सन्तुष्ट मिलेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>